विद्युतीय बस चार्ज गर्ने बिजुलीको महशुलमा छुट नपाएको व्यवसायीले गुनासो गरेका छन्।
प्राधिकरणले बिजुली बसका लागि तोकेको जति पनि महशुल छुट नदिएको व्यवसायीको आरोप छ।
प्राधिकरणले अहिले लिएको शुल्क परिमार्जन नभए कुनै पनि सार्वजनिक बिजुली बस संचालन गर्न सम्भव नहुने राजधानीमा बिजुली बस संचालन गरिरहेको सुन्दर यातायात प्रालीका अध्यक्ष भेष बहादुर थापाले बताए।
‘सार्वजनिक यातायातमा ‘अफ पिक आवर’मा चार्ज गर्दा ३ रुपैयाँ ७० पैसा भनिएको छ तर हामीसगँ ८ रुपैयाँ ८ पैसा लिइयो,’ उनले भने ‘ त्यस्तै हाम्रो उच्च माग केभिए शिर्षकमा महिनाको थप ८ हजार १ सय ६० रुपैयाँ अतिरिक्त महशुल आएको छ।’
यो विषयमा प्राधिकरणसगँ कुरा गर्दा छुट्टै ट्रान्सफर्मर राखेमात्र महशुलमा छुट दिन सकिने जवाफ आएको उनले बताए।
‘हामीले गाडी चार्ज गर्नै ३० लाख खर्च गरेर ट्रान्सफर्मर जडान गर्नुपर्यो भने कसले बिजुली बस सञ्चालन गर्न सक्छ’, थापाले सेतोपाटीसँग भने।
सार्वजनिक बिद्युतीय यातायात संचालक संस्थाले टिओडी मिटर (टाइम अफ डे मिटरिङ) राखेमा ‘अफ पिक आवर’मा प्रतियुनिट ३ रुपैयाँ ७० पैसामात्र महशुल तिर्नुपर्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
‘हामीले विद्युत धेरै देखि थोरै खपत हुने समय निर्धारण गरेर ३ ओटा टेरिफ निर्धारण गरेका छौँ। उहाँहरुले जुन समयमा चार्ज गर्नुहुन्छ त्यही अनुसार महशुल आउछ,’ घिसिङले सेतोपाटीसगँ भने।
आफुहरुले टिओडी मिटर राख्दा पनि महशुल भने उच्च आएको थापाले बताए।
‘हाम्रो टिआडी मिटरनै हो तर विद्युतिय सार्वजनिक यातायात नभई अन्य यातायातको लागि निर्धारण गरिएको महशुल हामीलाई लगाइयो,’ थापाले सेतोपाटीसगँ भने।