सरकारले सार्वजनिक यातायातका चालक तथा सहचालकलाई अंग्रेजी भाषाको प्रशिक्षण दिने भएको छ।
भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकसँग सामान्य संवाद गर्न सहज होस भन्ने उदेश्यले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंसँगको सहकार्यमा १ हजार चालक तथा सहचालकहरुलाई अंग्रेजी भाषा, बोलीचाली, पर्यटक मैत्री व्यवहार लगायतको प्रशिक्षण दिइने संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेस भट्टराइले जानकारी दिए।
‘पर्यटकहरुसगँ कहाँ जाने, भाडा कति, नमस्कार, धन्यवाद लगायतको सामान्य बोलिचालीको भाषा प्रशिक्षण दिन लागेका हौ,’ उनले भने ‘पर्यटकहरु हाम्रो संस्कार, संस्कृत हेर्न नेपाल आउने हुँदा चालक तथा सहचालकहरुलाई आतिथ्य सत्कार, मित्रवत व्यवहार लगायतको पनि प्रशिक्षण दिन लागेका हौ,।’
प्रशिक्षणमा आउने चालक तथा सहचालकलाई खाना खाजा तथा ५ सय रुपैयाँ भत्ता पनि सरकारले व्यवस्था गर्ने उनले जानकारी दिए।
प्रशिक्षणको लागि मन्त्रालयसँग थप छलफल गरेर अघि बढ्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए।
‘हामी आफै मुल आयोजक समितीमा छौ। भ्रमणवर्ष सफल पार्न हाम्रो पनि उत्तिकै दायित्व छ त्यसकारण हामीबाट हुनसक्ने सहयोग गर्छौ,’ उनले भने।