ट्याक्सी चालकहरुले ‘भिजिट नेपाल २०२०’ सहयोग नगर्ने भएका छन्। उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आज बसेको बैठकले ट्याक्सीमा विभिन्न स्लोगन टासेर सरकारको विरोध गर्ने निणर्य गरेको समाजका केन्द्रीय सदस्य विष्णु चौहानले जानकारी दिए।
‘सरकारले सबै सार्वजनिक यातायातमा ‘भिजिट नेपाल २०२०’को स्टिकर टास्ने अभियान सुरु गर्न लागेका छ तर हामी त्यसको सट्टा विरोधका स्लोगन टासेर सरकारको विरोध गर्छौ,’ उनले भने।
ट्याक्सी चालक तथा व्यवसायीसँग सरकारले बारम्बार झुठ बोलेका कारण यो कदम चाल्न बाध्य भएको उनले बताए।
‘हामीले पहिले पनि ट्याक्सीमा बिरोधको स्लोगन लेखेर टासेका थियौ, यातायात व्यवस्था विभागले देशमा अन्तराष्ट्रीय सम्मेलन हुनलागेको र नेपाल बारे गलत सन्देश जाने भन्दै १ हप्ता भित्र माग सम्बोधन गर्ने भन्दै हटाउन लगायो तर माग सम्बोधन भएन,’ चौहानले सेतोपाटीसँग भने।
ट्याक्सीको भाडा २०६९ सालदेखि समायोजन नभएको भाडा बैज्ञानिक ढंगले समायोजन गर्नुपर्ने र निजी सवारीसाधनलाई भाडामा प्यासेन्जर बोक्न रोक्नुपर्ने आफ्नो प्रमुख माग रहेको उनले जानकारी दिए।
यो विषयमा ट्याक्सी व्यवसायी तथा सरकार दुबै लचिलो हुनुपर्ने नेपाल यातायात व्यवसाष्यी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौला बताउछन्।
‘बैज्ञानिक भाडको कुरा हामीले पनि उठाइरहेका छौ। सरकारले भाडा समायोजन गरिदिनुपर्छ र सरकारले गर्न लागेको यत्रो ठुलो कार्यक्रममा ट्याक्सी व्यवसायी तथा समग्र यातायात क्षेत्रले सहयोग गर्नु पर्छ,’ सिटौलाले भने।