चिनियाँ कम्पनी बिवाइडीले अन्तत: विवादित बिजुली बस फिर्ता गरी नयाँ ल्याउने भएको छ। यसअघि सरकारले स्वीकार नगर्ने भनेर निर्णय गरेपनि पूरानै बस भिडाउने ध्याउन्नमा लागेको कम्पनी अब भने नयाँ ल्याउन तयार भएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिलेका बस स्वीकार नगर्ने निर्णय गर्दै नयाँ बस ल्याउन ६ महिना अघि नै पत्राचार गरेको थियो। यद्यपी कम्पनीले यसमा खासै चासो देखाएको थिएन।
तर अब भने कम्पनीले बस फिर्ता गरी नयाँ ल्याउन तयार भएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए। अघिल्लो वर्षको कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका बिजुली बस अहिलेसम्म ग्यारेजमै थन्किएका छन्।
एसियाली विकास बैंकको सहयोगमा खरिद गर्ने भनिएका बिजुली बस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीकृत नगर्दा थन्किएका हुन्।
प्राविधिक समितिको अध्ययनपछि बसको गुणस्तर नपुगेकाले कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै लामो समय मन्त्रालयको योजना तथा नीति महाशाखा प्रमुख रहेकी निता पोखरेलले अडान लिएकी थिइन्।
मन्त्रालयले स्पेसिफिकेस अनुसारका बस ल्याएपछि मात्र स्वीकार गर्ने निर्णय गरिसकेको थियो।
सरकारको स्वामित्वमा नआएका ती बस प्रधानमन्त्रीले उद्घाटन गरेपछि ठेक्का सम्झौता अनुसार आएका छन् कि छैनन् टुंगो लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राविधिक समिति बनायो।
बस स्वीकार्नु पहिले प्राविधिक समिति बनाएर त्यसको परीक्षण गर्नुपर्छ। अध्ययनपछि समितिले भन्यो-बस सम्झौता अनुसारको गुणस्तरका छैनन्।
समितिको प्रतिवेदन अनुसार बसको उत्पादन मिति खुलेको छैन। उत्पादन परीक्षण रिपोर्ट पनि छैन। भारवहन क्षमता तोकिएको भन्दा कमका छन् र न्यूनतम कति वर्ष बस चल्छन् भन्ने सुनिश्चितता छैन।
बसमा प्रयोग भएका सामान पनि निकै कमसल भएको र पुराना गाडीका सामान प्रयोग गरेको पाइएको उक्त समितिको अध्ययनले देखाएको थियो।
बाहिर रंगरोगन गरिए पनि भित्र प्रयोग भएका सामान खिया लागेको भेटिएको, ढोका असमेत राम्रोसँग नलाग्ने, ग्लास पनि त्यत्तिकै कमसल खालका हालेका गाडी भएकाले स्वीकार गर्ने अवस्थामा नभएको भन्दै समितिले सिफारिस गरेको थियो।
कम्पनीलाई नयाँ बस ल्याउनका लागि ६ महिनाको समय दिइएको तामाङले जानकारी दिए। उनका अनुसार अहिले सरकारले नयाँ स्पेशिफिकेसन बनाउँदै छ। पहिलेको स्पेशिफिकेसनमा पनि केही समस्या देखिएको भन्दै सरकारले नयाँ स्पेशिफिकेसन बनाउन लागेको हो।
अबको छ महिनामा बस तथा भ्यानहरु नेपाल आउने र त्यस लगत्तै लुम्बिनीमा सञ्चालन हुने उनले जानकारी दिए।