सरकारले टुटल पठाओ जस्ता एप्सलाई संरक्षण गरे ट्याक्सी व्यवसायीहरूले विद्रोहमा उत्रने चेतावनी दिएका छन्।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै टुटल पठाओ जस्ता कानुनले बर्जित गरेका अराजक संस्थालाई एक पटक राज्यले संरक्षण गरेको र फेरि पनि संरक्षण गर्न खोजे सरकार सँगै लड्न तयार रहेको उपत्यका ट्याक्सी व्यवसायी तथ चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले चेतावनी दिए।
‘हामीले २७ प्रकारको कर तिरेका छौ, यात्रुको बीमा गरेका छौं तर यस्ता टुटल पठाओलाई केही नतिर्दा पनि सरकारले केही नगर्ने,’ उनले भने।
यस्ता सेवा सुचारु भइरहे ट्याक्सी सिंहदरबारमा र मिटर नापतौल विभागमा लगेर थुपारिदिने समाजका अध्यक्ष सानु पर्वछाने मगरले चेतावनी दिए।
‘ट्याक्सीको भाडा ६९ सालदेखि समायोजन नहुँदा ‘हाउमच’ लगाउने र एप्पको नाममा जे पनि गर्ने,’ मगरले भने।
उनले यातायात मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक, ट्राफिक प्रमुख लगायतलाई यातायात व्यवस्था ऐन हेर्न अनुरोध समेत गरे।
टुटल पठाओलाई सेवा दिने भए कर तिरेर, मिटर जोडेर वैधानिक ढंगले आउन मगरले आग्रह गरे।