नेपाली बजारमा भारतीय ब्राण्डका सवारी साधन लोकप्रिय छ। भारतीय सवारी साधन बलियो, विश्वसनीय र नेपाल सुहाउँदो रहेको आम बुझाई छ।
एक दशक देखि नेपालको अटोमोबाइल क्षेत्रमा कार्यरत म्याक्स भिजन प्रालीले एक हप्ता अगाडि भारतीय दुइपांग्रे सवारी साधन ब्राण्ड ‘एफटेक’ औपचारिक रुपमा नेपाल भित्राएको हो।
सुरुवातमा कम्पनीले टर्बो र नाइट राइडर गरी दुईओटा मोडल सार्वजनिक गरेको र केही महिनामा अरु मोडल पनि ल्याउने तयारी रहेको म्याक्स भिजन प्राली सेल्स तथा मार्केटिङ म्यानेजर अनमोल शाक्यले जानकारी दिए।
कम्पनीले यसको सेल्स मात्र नभई सर्भिस र पार्टसमा अझ बढी केन्द्रित रहेको शाक्यले बताए।
‘हामी पुरै तयारीको साथमा आएका छौँ। हामीले बिक्री पछिको सेवा र पार्टसमा फोकस गरेका छौ,’ शाक्यले भने।
कम्पनीले देशभर शोरुम र सर्भिस स्टेसन खोल्ने तयारी गरिरहेको उनले जानकारी दिए।
‘हामी १ वर्ष भित्रमा १५/२० ओटा शोरुम बिस्तारै ७५ ओटै जिल्लामा खोल्ने तयारी गरिरहेका छौँ,’उनले भने।
यी मोटरसाइकलहरुमा कम्पनीले ५ वर्षको वारेन्टी दिएको छ। त्यस्तै पहिलो सय जनालाई २० हजार क्यास छुट र ७० प्रतिशत डाउन पेमेन्ट गर्नेलाई शुन्य ब्याजमा दिइने कम्पनीले जनाएको छ।
नाइड राइडरलाई ३ लाख १९ हजार ९ सय र टर्बोको ३ लाख ९ हजार ९ सय मूल्य निर्धारण गरेको छ।
१ सय ७० सिसीको टर्बोले १०.५ किलोवार्ट पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ। यसको १७० एमएम ग्राउण्ड क्लेयरेन्स यसलाईनेपालको बाटो सुहाउदो बनाएको छ। २० लिटर इन्धन हाल्न सकिने हुँदा लामो दुरीको यात्रामा धेरै झण्झट सहनु पर्दैन।
त्यस्तै १७० सिसि नाइट राइडरले १०.५ किलोवाट पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ। यसको ग्रउण्ड क्लेयरेन्स १७० मिलिमिटर छ भने फुल ट्याङ्क क्षमता १८ लिटर छ।