लगानी बोर्डसगँ ३ ओटा वार्ता गरेपछि कोरियन कम्पनी मोट्रेक्स नेपालमा गाडी एसेम्बल प्लान्ट बनाउन तयार भएको छ।
३ चरणको वार्ता पछि बुधवार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मोट्रेक्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत ली ह्यङ वानले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।
अब दुवै देशका लगानी बोर्डले प्रारम्भिक सम्झौतालाई स्वीकृत गरेपछि मात्र अन्तिम सम्झौता हुने अधिकारीले जानकारी दिए।
‘उनीहरुको प्रमुख चिन्ता भनेको अरु कुनै कम्पनीको प्लान्ट खुल्यो भने प्रतिष्पर्धा गर्न गाह्रो हुन्छ भन्ने रहेछ। यो विषयमा हामीले उनीहरुलाई सहमत गराइसक्यौँ,’ उनले भने, ‘त्यस्तै भन्सार छुट लगाएतको कुरा कानुनमा स्पस्ट नभएको कारण नेपाल सरकारले सक्दो सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छ।’
उद्योगको वातावरणिय प्रभाव मुल्याङकन (इआईए) को ३ वर्षमा निमार्ण सक्नुपर्ने सम्झौता भएको उनले जानकारी दिए।
मोट्रेक्सले रुपन्देहिको मोतिपुर स्थित प्रस्तावित औद्योगिक क्षेत्रमा १ सय विगाह क्षेत्रफलमा १० अर्ब ५४ करोडको लगानीमा प्लान्ट निमाण गर्ने छ।
मोट्रेक्सले गत वर्ष माघमा एसेम्बल प्लान्ट स्थापनाका लागि लगानी बोर्डलाई प्रस्ताव गरेको थियो। उसले ७ वर्षसम्म अन्य कम्पनीले एसेम्बल प्लान्ट स्थापना गर्न नपाउने, १० अर्बभन्दा बढी लगानीका एसेम्बल कम्पनीलाई मात्रै स्वीकृति दिनुपर्ने, भन्सार तथा आयकरमा छुट दिनुपर्ने लगाएतको शर्तहरु राखेको थियो।
मोट्रेक्सको ७ वर्षसम्म अन्य एसेम्बल प्लान्ट स्थापना गर्न नपाइने शर्त प्रति नेपालका सवारी साधन आयातकर्ता कम्पनीले असन्तुष्टी जनाएका थिए।