चीनको विएके मोटर्स विश्वभरिमै विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीमध्ये अग्रपंक्तिमा पर्छ। नेपालमा कारखाना खोलेर गाडी उत्पादन गरी दक्षिण एसियाका केही देशमा बिक्री गर्ने उसको योजना छ। त्यसका लागि उसले सुन्दर इन्जिनियरिङसँग सहकार्य गर्न लागेको छ।
मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लो च्यान लिन गत साता नेपाल आएका थिए। सेतोपाटीका रोशन सिग्देल र सुधिर भण्डारीले सिइओ लिनसँग गरेको कुराकानीको सम्पादित अंशः
तपाईंहरू पेट्रोल गाडीबाट विद्युतीय गाडीको उत्पादनतिर लाग्नुभएको छ। विश्वभरका अनुसन्धान पनि यसैमा केन्द्रित छन्। यसको भविष्य कस्तो छ?
अहिले विश्वभरबाट सकेसम्म चाँडै डिजेल र पेट्रोल गाडी विस्थापन गर्ने भन्ने चर्चा छ। त्यसको पहिलो कारण वातावरण हो। किनभने खनिज इन्धनबाट चल्ने सवारीसाधानले वातावरणमा धेरै प्रदुषण गर्छन्। वातावरण संरक्षणका लागि विद्युतीय गाडी प्रयोग गर्नुपर्छ भन्ने कुरा धेरै अध्ययनले देखाएका छन्।
अर्को कारण पेट्रोलियम पदार्थ सकिँदै गएको छ। धेरै लामो समयसम्म पेट्रोल/डिजेल आइरहँदैन। त्यसैले हामीलाई पनि अब विद्युतीय गाडी उत्पादन गर्नुपर्छ भन्ने लागेको हो।
सन् २०३० सम्म धेरै देशले पेट्रोलियम गाडी विस्थापन गर्ने भने पनि मलाई त्योभन्दा अघि पेट्रोल वा डिजेल गाडी विस्थापित हुन्छन् भन्ने लाग्छ। यसमा म ढुक्क छु। अघि भनेजस्तै अहिले विश्वमा यसको प्रभावको विषयमा निकै धेरै चर्चा भइरहेको छ। धेरै देशले सकेसम्म चाँडै पेट्रोलियम गाडी फेर्न चाहन्छन्। यो एक देशको मात्रै होइन विश्वकै चासोको विषय हो।
विद्युतीय गाडी उत्पादन गर्न नेपाललाई कसरी रोज्नुभयो?
नेपाल र चीनको सम्बन्ध निकै राम्रो छ। हामी एक हिसाबले भाइ-भाइजस्ता छौं। हामीले बच्चादेखि नै हिमालपारि एउटा सानो र सुन्दर देश छ भनेर पढेका थियौं। त्यही भाइचाराको सम्बन्ध भएकाले पनि नेपालमा लगानी गर्न उत्साहित छौं।
सुन्दर यातायातसँग चिनजान भएको पनि दुई वर्ष भयो। हामी अहिले उहाँहरूसँग नजिकको सम्बन्ध छ।
पछिल्लो समय काठमाडौं आएर हेर्दा निकै प्रदुषण भएकोजस्तो लाग्यो। धुवाँधुलो निकै बढेछ। काठमाडौंजस्ता संसारभरका सहरमा प्रदुषण कम गर्न सहयोग गर्छ भनेर विद्युतीय सवारी साधन उत्पादन गर्न खोजेको हो।
यसले नेपाललाई पहिलेजस्तै सुन्दर बनाउन सहयोग गर्छ भनेर यहाँ निर्माण गर्न खोजेको हो। सुन्दर ग्रुपसँगको सम्बन्ध राम्रो भएकाले पनि हामीले नेपालमै गाडी उत्पादन गर्न खोजेका छौं।
व्यवसाय भन्ने कुरा भावनाभन्दा पनि नाफासँग जोडिन्छ। बजारका हिसाबले नेपालभन्दा भारत आफैंमा ठूलो देश छ। अन्य देशमा पनि उत्पादन गर्न सकिन्थ्यो नेपाल नै छान्नुको कारण के थियो?
अवश्य पनि लगानी भावनाबाट निर्देशित हुँदैन। तर सीमापार लगानीको कुरा वैदेशिक सम्बन्धमा पनि भर पर्छ। हाम्रो देशको सम्बन्ध कस्तो भन्ने कुराले पनि लगानीका लागि स्थान निर्धारण गर्छ। हामीले नेपाल रोज्नुको एउटा कारण हाम्रो सम्बन्ध हो।
अर्को कुरा चीन सरकारको बेल्ट एन्ड रोड इनिसियटिभको अवधारणाअनुसार पनि आफ्नो छिमेकी देशमा लगानी गर्ने भन्ने छ। त्यसैले हामी आफ्नो छिमेकमा आफूसँग भएको प्रविधि बाँड्न चाहन्छौं। किनभने हाम्रो प्रविधि विश्वमा अग्रणी भइसकेको छ। त्यही प्रविधि बाँड्नका लागि पनि यहाँ आएको हो।
काठमाडौं बस्दा पनि यहाँ धेरै गाडी देखिरहेको छु। मानिसको भीड पनि निकै बाक्लो छ। त्यसैले यो बजार सानोचाहिँ छैन। मानिसको ओइरो छ। यहाँको जनसंख्या नै ३ करोड पुगिसक्यो। आधुनिक बजारका लागि यो संख्या सानो होइन।
एसेम्बल प्लान्टको लगानी कति हो? त्यसमा तपाईंहरूको हिस्सा कति हुन्छ?
अहिले यति नै लगानी गर्ने भनेर भन्न सकिँदैन। यस विषयमा कुरा भइरहेको छ। हामीले साना-ठूला गरेर दुई हजार गाडी उत्पादन गर्न चाहन्छौ। त्यो आकारको गाडी उत्पादन गर्न सानो लगानीले हुँदैन हामी अर्बभन्दा बढी लगानी गर्ने तयारीमा छौं। ठ्याक्कै यति भन्न अहिले मिलेन।
यहाँ बनेको गाडी नेपालका लागिमात्रै हो कि विदेश निर्यात पनि हुन्छ?
नेपालमा प्लान्ट खोल्ने हो। बेल्ट एन्ड रोड इनिसियटिभबाट जोडिएका दक्षिण एसियाका देशमा पनि हामीले यहाँ उत्पादन गरेको गाडी पुर्याउने योजना बनाएका छौं। हुन त चीनमा उत्पादन गरेर लगेको भए पनि हुने थियो। तर नेपालबाट उत्पादन गरेर लैजाँदा सजिलो हुन्छ।
हामीले दक्षिण एसिया वरिपरिका सबै देशमा नेपालबाटै उत्पादन भएको गाडी दिने योजना बनाएका छौं। उत्पादन हुन लागेको सबै गाडीको काम नेपालबाटै गरिनेछ।
विद्युतीय गाडीका लागि दक्षिण एसियाली बजार कस्तो देख्नुहुन्छ?
हामीले एक वर्ष अघिदेखि यहाँको विषयमा अध्ययन गरेर गाडी बनाउने निर्णयमा पुगेका हौं। हामीलाई लाग्यो- काठमाडौंको प्रदुषणको लागि नै सबैभन्दा बढी विद्युतीय गाडीको महत्व छ। त्यसैले हाम्रो पहिलो बजार काठमाडौं नै हो र यो सानो बजार होइन।
त्यस्तै नेपालमा पछिल्लो समय विद्युतको उत्पादन बढिरहेको छ। विद्युतीय गाडीका लागि चाहिने सबैभन्दा आधारभुत कुरा विद्युत हो। त्यसको कमी नेपालमा नहुने हुनाले यहाँ बजार पनि सधैँ राम्रो देखिएको हो। नेपालबाहिर पनि बजार राम्रो छ।
नेपालको भौगोलिक अवस्था हेर्दा भिराला पहाड छन्। विद्युतीय गाडीको क्षमता कम हुन्छ भनिन्छ। त्यस्ता गाडी नेपालको पहाडमा पनि जान्छन् त?
हाम्रो कम्पनीले २०१० देखि अमेरिकामा उत्पादन हुन सुरू गरिसकेको छ। चिनियाँ बजारमा यो कम्पनी तेस्रो नम्बरमा पर्छ भने विश्वभरिमा पनि माथि नै आउँछ। यसको मतलब हामी राम्रो गाडी बनाउने कम्पनी हो।
इलेक्ट्रिक गाडीको पनि पावर बढी नै हुन्छ। पहाड पनि चढ्न सक्ने क्षमताका हुन्छन्।
उकालोमा जाँदा बढी पावर लाग्छ र चाँडै ब्याट्री सकिन्छ, त्यसैले चार्जिङ स्टेसन नजिकै हुनुपर्छ। समथरमा लामो समयसम्म चल्छ। फरक गाडीको पावरभन्दा पनि ब्याट्रीको मात्रै हो।
नेपालको एसेम्बल गर्ने प्लान्टमा कतिले रोजगारी पाउछन्?
कम्पनीमा चाहिने मेकानिकल इन्जिनियर चीनबाटै आउने हुन्। अन्य सबै कामदार नेपाली राख्ने योजना छ। पहिलो चरणमा ६० देखि ९० जना नेपालीले प्रत्यक्ष रोजगारी पाउने देखिन्छ।
गाडी बनाउने कागजी प्रक्रिया कहाँ पुग्यो?
नेपाल सरकारसँगको सल्लाहमा हामीले कागजी प्रकृया अघि बढाइरहेका छौं। सरकारी पक्षले पनि केही दिनमा त्यसलाई अन्तिम रूप दिने भनेको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिसकेका छौं। कति प्रतिशत विदेशी लगानी ल्याउँदा हुन्छ भन्नेबारे लगानी बोर्डसँग छलफल हुन्छ। त्यसमा नेपालीको हिस्सा कति हुने भन्ने पनि टुंग्याउन बाँकी छ।
उद्योग विभागसँग पनि सहकार्य गरेर काम अघि बढेको छ। नेपाल सरकारले गरेको सहयोग हेर्दा छिट्टै सबै कागजी काम सकिन्छ भन्ने लागेको छ।
गाडी उत्पादनबाहेक नेपालका अरू क्षेत्रमा पनि लगानी गर्ने योजना छ कि?
योबाहेक ब्याट्री बनाउने पनि लक्ष्य छ। डिजिटल साधनको सबै प्रकारको ब्याट्री बनाउने भन्ने योजना पनि बनिरहेको छ। मोबाइलदेखि अन्य साधनको ब्याट्री बनाउने हाम्रो उद्देश्य हो।
अहिले गाडीमा प्रयोग हुने सबै ब्याट्री लिथिएम आयोन हो। तपाईंहरू पनि त्यही ब्याट्री प्रयोग गर्ने योजना छ कि त्योभन्दा उच्च प्रविधिको ब्याट्री पनि हुन सक्छ?
हामी ब्याट्रीको विषयमा धेरै अनुसन्धान गरिरहेका छौं। सानो ब्याट्रीमा कसरी धेरै शक्ति अटाउने भन्ने हाम्रो खोज हो। अहिले त्यस विषयमा नयाँ अपडेट आइरहेको छ। त्यसमा सबैभन्दा ठूलो काम भइरहेको छ।
तत्कालै समस्या नदेखिए पनि भविष्यमा प्रयोग भएर सकिएको ब्याट्रीको समस्या निकै ठूलो हुन्छ भनिएको छ। यस विषयमा तपाईंहरू योजना के छ?
हामीले यहाँ राख्ने प्लान्टको ब्याट्री सबै चीनमै लैजाने सम्झौता भएको छ। त्यसैले त्यो नेपालमा फाल्दैनौं। त्यो पछि पनि काम लाग्छ। एक पटक प्रयोग भएको ब्याट्रीमा ३० देखि ६० प्रतिशतसम्म शक्ति अझै बाँकी हुन्छ। अर्को कुनै काममा प्रयोग हुन्छ। त्यसलाई फेरि कसरी प्रयोग गर्ने भन्ने पनि अनुसन्धान भइरहेको छ।
त्यसपछि फेरि अन्तिममा कहाँ डम्प गर्ने भन्ने पनि हाम्रो आफ्नो योजना छ। तर नेपालमा भने फाल्दैनौं।
त्यो नेपालको मात्रै समस्या नभएर विश्वभरिनै ब्याट्री कसरी डम्प गर्ने भन्ने बहस चलिरहेको छ। पुरै सकिएपछि पुनप्रयोग गर्न पनि मिल्दैन भनिन्छ। त्यसको विषयमा केही अध्ययन गर्नुभएको छ?
त्यसको लागि पनि समाधान निस्किसकेको छ। अहिलेको ब्याट्री कसरी फेरि प्रयोग गर्नै भन्ने अनुसन्धानले धेरै कुरा पत्ता लगाएको छ।
भविष्यमा खर्च कम आउने भए पनि अहिले भने महंगो पर्छ। त्यसको असर नेपालीले महंगोमै गाडीको भाडा तिर्नुपर्छ। त्यसैले यसबाट उपभोक्तलाई के फाइदा?
पहिलो कुरा त वातावरण राम्रो हुने भएपछि सबैको लागि फाइदा भयो। दोस्रो, एक पटक ठूलो लगानी गरेपछि पछि सस्तो पर्ने हुन्छ। लामो समयमा सस्तो हुन्छ त्यसैले दीर्घकालमा लागत कम पर्छ।
नेपालमै एसेम्बल भएको गाडी नेपालीले कहिले चढ्न पाउँछन्?
आगामी ६ महिनादेखि १ वर्षभित्रमा प्लान्ट बनाइसक्ने योजना छ। नेपालका लागि विद्युतीय गाडी आयो भने त विद्युत यही छ चलाउन समस्या नै हुँदैन।