नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान विभागसगँ छलपल गरेको छ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसंग भेटी सरकारले व्यावसायिक क्षेत्रलाई अधिकतम पारदर्शी र स्वच्छ बनाउने उद्धेश्यले ल्याएको भेइकल कन्साइन्मेन्ट सिस्टम (भिसिटिएस) को कार्यान्वयनका क्रममा देखा परेका विविध समस्याहरुबारे छलफल गरेको हो।
व्यवसायीहरुमा भिसिटिएस बारे अन्यौलता रहेको र यसबारे आवश्यक जानकारी पनि नभएको कारण व्यवसायीहरुले जरिवाना तिर्नु परिरहेको बारेमा महानिर्देशकसँग छलफल गरेको थियो।
छलफलमा महानिर्देशक मैनालीले भिसिटिएस व्यवसायीहरुकै हितमा ल्याइएको भन्दै यसबारे व्यवसायीहरुलाई के कस्तो सहयोगको आवश्यकता पर्छ त्यो दिन विभाग सदैव तयार रहेको बताए।
मैनालीले यो छुट्टै कर प्रणाली नभएको, व्यवसायमा पारदर्शिता भए पछि त्यसमा स्वतः जवाफदेहिताको विकास हुन्छ भन्दै व्यवसायीहरु कै सहजताको लागि असोज मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था गरिएको जानकारी दिए।
भिसिटिएस बारे अटोमोवाइल व्यवसायीहरुलाई आवश्यक जानकारी दिन नाडाले एक महिना भित्रै प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष दुलालले बताए।