गत वर्षको तुलनामा सवारीसाधन आयातमा गिरावट आएको छ।
भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्षको पहिलो ५ महिनाको तुलनामा चालू आर्थिक वर्षमा २ अर्व ७६ करोड ८५ लाख ६४ हजारले गिरावट आएको हो।
गत आर्थिक वर्षको पहिलो ५ महिनामा ४४ अर्व १२ करोड ७८ हजारको सवारीसाधन आयात भएको थियो भने चालू आर्थिक वर्षको यही अवधीमा ४१ अर्व ३५ करोड १५ लाख १४ हजारको मात्र आयात भएको छ।
सवारी साधनको आयात घट्नुमा धेरै पक्षले भुमिका खेलेको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुनिल रिजालले बताए।
‘पहिलो कारण त बैंकमा तरलताको अभाव हो। त्यस्तै अहिले गाडी खरिद गर्न ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्छ, यो प्रावधानले गाडी खरिद गर्न चाहानेले खरिद गर्न पाएका छैनन्,’रिजालले भने।
त्यस्तै सरकारको नीति नियमको कारण पनि सवारी साधन आयातमा ह्रास आएको रिजालले जानकारी दिए।
‘वर्षैपिच्छे भन्सार दर, अन्तशूल्क परिर्वतन भइरहेको छ।
भर्खरै मात्र राष्ट्र बैंकले सवारीसाधनको किस्ता आयको ५० प्रतिशत भन्दा धेरै हुननहुने प्रावधान ल्याएको छ।
यस्ता कारणले पनि सवारी साधनको आयातमा गिरावट आइरहेको छ,’रिजालले सेतोपाटीसगँ भने।