तपाईंलाई साथी–भाइ वा इस्टमित्रसँग पार्टी गर्न कत्तिको मनपर्छ? पार्टीको लागि क्लब, डिस्को वा बार जाने गर्नुभएको होला। तपाईंलाई पार्टी मन पर्छ भने यो तपाईको लागि खुसीको खबर हुन सक्छ। पार्टीमा रमाउनेहरुले अब नौलो अनुभव पनि गर्न पाउने भएका छन्।
रियल इकोनोमिक सस्टिनेबल सोसाइटी नेपालले आजबाट २ ओटा पार्टी बस सञ्चालनमा ल्याएको छ। यी बसमा हाईफाई डिजे संगीत प्रणली, बार, धुम्रपान क्याबिन, डान्स फ्लोर, एयर कन्डिसन, टेलिभिजन, आन्तरिक चार्जिङ पोर्ट, शौचालय लगायत सुविधा रहेको कम्पनीका निर्देशक अशोक शर्माले जानकारी दिए।
‘यो बस पुर्णतया मनोरञ्जको लागि हो। यो बसले भ्रमण वर्ष २०२० लाई पनि प्रवर्द्धन गर्छ भन्ने हाम्रो विश्वास हो,’ शर्माले भने। इन्टेरियर डिजाइन, लाइट्स तथा म्युजिक बसको मुख्य आकर्षण हुने शर्माको दावी छ।
लडेर चोटपटक नलागोस भनेर इन्टेरियरलाई विशेष तरिकाले निर्माण गरिएको उनले जानकारी दिए। ‘हामीले सुरक्षामा विशेष ध्यान दिएका छौँ, यस बसभित्र हामी प्लास्टिकको ग्लास मात्र प्रयोग गर्छौ र गार्डको व्यवस्था पनि गरेका छौँ’ उनले भने ‘भित्रको आवाज बाहिर नजाने बुलेट प्रुफ शिशा प्रयोग गरेका छौँ।’
३६ जनाको क्षमता रहेको यो बसमा यात्रुहरुको दुर्घटना बीमा गरिएको शर्माले जानकारी दिए। कम्पनीले यस पार्टी बस प्रयोग गरे बापत विभिन्न शुल्क निर्धारण गरेको छ। हप अन पार्टी राइडको प्रति व्यक्ति १ हजार रुपैयाँ निर्धारण गरेको छ।
त्यस्तै, प्राइभेट (रिजर्भ्ड) पार्टीको ३ घण्टाको ३५ हजार रुपैयाँ र त्यसपछि प्रत्येक घण्टाको १० हजार रुपैयाँ, ६ घण्टाको प्राइभेट पार्टीको ५५ हजार रुपैयाँ र त्यसपछि प्रतिघण्टा १० हजार रुपैयाँ, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८५ हजार रुपैयाँ र त्यसपछि प्रति घण्टा १० हजार रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, कम्पनीले एयरपोर्ट ल्याउन वा पुर्याउनका लागि ‘वान वे’को २० हजार रुपैयाँ र दुई तर्फी ३५ हजार रुपैयाँ निर्धारण गरेको छ।
पार्टी बस नेपालले स्पेसल थिम पार्टीको लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकेको छ।