काठमाडौंमा बिजुली बस सञ्चालनमा ल्याएको सुन्दर यातायातले बैंकबाट ऋण नपाउँदा थप गाडी ल्याउने प्रक्रिया रोकिएको छ।
विगत डेढ महिनादेखि बैंक धाउँदा पनि कुनै पनि बैंक विद्युतीय सवारी साधनमा लगानी गर्न तयार नभएकोले थप ५० वटा विद्युतीय गाडी ल्याउने प्रक्रिया रोकिएको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।
‘ऋणको लागि जाँदा डिजेल गाडी किन्ने हो भने भोलि नै ऋण पास गछौं भन्नुहुन्छ तर विद्युतीय बसको लागि कोही तयार हुनुहुन्न,’ थापाले सेतोपाटीसगँ भने।
नेपाल राष्ट्र बैंकले विद्युतीय बस खरिद गर्न ८० प्रतिशतसम्म ऋण दिन सक्ने निर्देशन दिए पनि ७० प्रतिशतमात्र माग्दा पनि नपाएको थापाको गुनासो छ।
बैंकलाई विश्वास दिलाउन नसक्दा बैंकले कर्जा नदिएको हुनसक्ने बैंकर्स संघका अध्यक्ष भुवन दहालले बताए।
‘बैंकले जोखिम नभएको क्षेत्रमा लगानी गर्ने हो। ऋणीले भरपर्दो आय स्रोत नदेखाई बैंकहरूले ऋण दिँदैनन्,’ उनले भने, ‘नेपाल राष्ट्र बैंकले पनि विद्युतीय सवारी साधनको कारोबारमा प्रोत्साहन दिएको छ। बैंकहरूले पनि विद्युतीय गाडीको कारोबारमा कर्जा उपलब्ध गराइरहेका छन्।’