अटोमोवाइल एसोसिएसन अफ नेपाल (नाडा)का पदाधिकारीहरुले बुधबार अर्थमन्त्री डा युवराज खतिवडासँग भेट गरेका छन्।
पछिल्लो समय सवारीसाधनको व्यवसायमा मन्दी आएपछि उनीहरुले अर्थमन्त्री खतिवडालाई भेटेका हुन्। अटोमोवाइल क्षेत्रमा अहिले रहेका समस्या अर्थमन्त्रीलाई सुनाएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए।
‘गाडी खरिद गर्दा ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने, आम्दानीको ५० प्रतिशत भन्दा धेरै किस्ता रकम हुन नहुने विषयलाई सम्वोधन गर्न भन्यौँ’ दुलालले सेतोपाटीसँग भने। स्पेयर पार्ट्सको भन्सार दरका कारण चोरी निकासी बढेको समस्या अर्थमन्त्रीसमक्ष राखेको उनले बताए।
अर्थमन्त्री खतिवडाले यो क्षेत्रको समस्याका बारेमा आफू जानकार भएको बताउँदै पछिल्लो समय सवारीसाधनबाट उठ्ने राजस्व पनि घटेका कारण आगामी बजेटमार्फत व्यवसायीलाई पनि राहत हुनेगरी सम्वोधन गर्ने प्रतिबद्धता जनाएको दुलालले बताए।
केही साताअघि मात्रै राष्ट्र बैंकले निर्देशिका जारी गर्दै व्यक्तिगत प्रयोजनका सवारीसाधन खरिद गर्दा कर बुझाएपछि हुने आम्दानीको ५० प्रतिशतभन्दा बढी रकम किस्ता तिर्न नपाउने व्यवस्था लागू गरेको छ। अर्थात यो व्यवस्थाअनुसार मासिक एक लाख रुपैयाँ आम्दानी गर्नेले ५० हजारभन्दा कम किस्ता पर्नेगरी मात्रै सवारी किन्न सक्नेछ।
हाल सवारीसाधनको व्यापार नै खस्किएको र यो व्यवस्थाले झनै असर पार्ने भन्दै व्यवसायीहरुले असन्तुष्ट जनाउँदै आएका छन्। यो व्यवस्थालाई पनि सम्वोधन गर्ने प्रतिवद्धता अर्थमन्त्रीले जनाएको दुलालले बताए।
दुलालका अनुसार खतिवडाले डाउनपेमेन्टको व्यवस्थालाई समेत सम्वोधन गर्ने प्रतिबद्धता जनाएका छन्। हाल कुल मूल्यको ५० प्रतिशत रकम नगद भए मात्रै सवारीसाधन किन्न पाइने व्यवस्था छ। अर्थात मूल्यको ५० प्रतिशतभन्दा कम रकम मात्रै फाइनान्स गर्न पाउने सुविधा छ।
‘उहाँले डाउनपेमेन्ट, अनिश्चत व्याजदर, किस्ता रकममा आयको ५० प्रतिशतभन्दा धेरै हुन नहुने लगायतको समस्याका विषयमा देखिने गरी समाधान गर्ने बताउनु भएको छ,’ दुलालले भने।
सवारी साधनमा हाल २ सय ४० प्रतिशतसम्मको कर तिर्नुपर्ने अवस्था रहेको बताउँदै उनले यसलाई पनि अर्थमन्त्रीले आगामी वर्षको बजेट मार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाएको बताए।
नयाँ कार्यभार सम्हालेपछि नाडाका अध्यक्ष दुलाल नेतृत्वका पदाधिकारीहरुले गभर्नर डा चिरन्जीबी नेपाल, राजश्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनाली, भन्सार विभागका माहानिर्देशक सुमन दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकाल, आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद बहादुर कुँवर लगायतलाई भेटेर आफ्ना समस्याहरु राख्दै आएका छन्।