कोरियाली सवारी साधन निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थाल्यो।
गत अगस्टबाट भारतमा बिक्री सुरु भएको मिड–एसयुभी ‘सेल्टोस’ ठिक एक महिना अगाडी नेपाल प्रवेश गरेको हो।
यो १ महिनाको अवधिमा पहिलो चरणमा ल्याइएको ५० ओटा गाडी सकिएर फेरी १०० ओटा ल्याइएको कियाको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजका असिस्टेन्ट जनरल म्यानेजर अनिश लामिछानेले जानकारी दिए।
‘ग्राहकको रोजाई हेर्दा यो सय ओटा पनि छिट्टै सकिन्छ। सेल्टोस नेपाली ग्राहकको रोजाई अनुसारको छ,’ लामिछानेले भने।
हाल सेल्टोसको एचटिके, एचटिके प्लस, एचटिएक्स र एचटिएक्स प्लस उपलब्ध छ। कम्पनीले यसको मूल्य ४९ लाख ९० हजारदेखि ६६ लाख ९० हजारसम्म निर्धारण गरेको छ।
‘हामीले पहिले यी ४ भेरियन्टका सेल्टोस ल्याएका थियौँ। ग्राहकको माग अनुसार ७६ लाख ९० हजार पर्ने टप भेरियन्ट पनि ल्याउदै छौं,’ उनले सेतोपाटीसगँ भने।
सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डि–कट स्टेरिक, युभी ग्लास जस्ता विशेषता छन्।
यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता नभएको कम्पनीको दावी छ। भारतमा बजार प्रवेश गरेको १० दिनमै उक्त महिना सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल भएको थियो।