झापामा यात्रुवाहक सवारी साधनमा ‘टाइम कार्ड’ लागू भएको छ।
जिल्ला ट्राफिक कार्यालय झापाले गत आइतवारदेखि यात्रु बोक्ने सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरेको हो।
साँघुरो सडकमा सवारी साधनको गती उच्च हुँदा दुर्घटनाको सम्भावना बढेको कारण टाइम कार्ड लागू गरिएको झापाका ट्राफिक प्रहरी निरिक्षक होम प्रसाद अधिकारीले जानकारी दिए।
‘सवारी साधनको गति उच्च भयो भन्ने गुनासो आयो। त्यसैले यातायात व्यवसायी, कर्मचारी लगाएतका सम्बन्धित व्यक्तीहरुसगँ छलफल गरेर टाइम कार्ड लागु गरेका हौं,’ अधिकारीले सेतोपाटीसगँ भने, ‘काकडभिट्टाबाट छुटेको गाडीको विर्तामोडमा समय चेक हुन्छ। त्यस्तै विर्तामोडबाट छुटेको गाडीको दमकमा चेकिङ हुन्छ।’
काकडभिट्टादेखि विर्तामोडसम्म ३० मिनेट र विर्तामोडदेखि दमकसम्म ५५ मिनेट समय निर्धारण गरिएको छ। टाइमकार्ड चेकिङको लागि हाल कुल १० जाना ट्राफिक प्रहरी खटाइएकाे छ।
निर्धारण गरिएकोभन्दा छिटो पुग्ने सवारी साधनलाई कारबाही हुने उनले बताए।
झापाका विभिन्न स्थानबाट अन्य जिल्लामा जाने सवारीसाधनमा पनि ‘टाइम कार्ड’ लगाउने तयारी भइरहेको अधिकारीले जानकारी दिए।