विद्युतीय सवारी साधनमा चार्जिङको समस्या छ। सहरमा कुदाउन घरमै गरेको चार्जले धाने पनि चार्जिङ स्टेसनकै समस्याका कारण लामो दुरी यात्राको लागि विद्युतीय सवारी साधन प्रयोगमा आउन सकेका छैनन्।
यो समस्या हल गर्न नेपाल विद्युत प्राधिकरणले राजमार्गका होटलहरूमा चार्जिङ स्टेसन जडान गर्ने तयारी थालेको छ।
राजमार्गका होटलहरूमा स्टेसन राख्दा ठाउँको समस्या नहुने र हेरचाह पनि हुने भएकोले यस्तो तयारी गरिएको नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवालीले जानकारी दिए।
‘उपत्यकाको हकमा प्राधिकरणका कार्यालय, नगरपालिकाले दिएको स्थान वा सपिङ कम्प्लेक्स लगायत पायक पर्ने स्थानमा राख्छौं। त्यस्तै राजमार्गका होटलसँगको सहकार्यमा राख्ने तयारी छ,’ उनले सेतोपाटीसँग भने।
गाडी चार्ज गर्न काठमाडौंबाटै बुकिङ गर्न सकिने उनले बताए।
‘हामी काठमाडौंबाट हिँड्दा बीचमा कुन ठाउँको चार्जिङ स्टेसनमा चार्ज गर्ने भनेर पहिल्यै मोबाइल एपबाट बुकिङ गर्न सक्छौं। यसले गर्दा चार्जिङ गर्ने ठाउँको अन्यौलता हट्छ,’ ज्ञवालीले भने।
सुरुआती चरणमा प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउँदै छ। प्राधिकरणले बनाउने फास्ट चार्जरले ४५ मिनेटदेखि १ घण्टामा पूरा चार्ज गर्न सकिने ज्ञवालीले जानकारी दिए।
उनले भने, ‘चार्जिङ स्टेशनमा ६० किलोवाटको दुइटा र २२ किलोवाटको एउटा पोर्ट हुन्छ। २२ किलोवाट पोर्टमा नर्मल चार्ज गर्न मिल्छ।’