गत वर्षको तुलनामा यो वर्ष सवारी साधनको आयातमा गिरावट आएको छ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ७ महिनामा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सवारी साधनको आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले ह्रास आएको हो।
गत आर्थिक वर्षमा ५६ अर्व ९८ करोड ११ लाख ३६ हजारको सवारी साधन आयात भएकोमा चालू आर्थिक वर्षमा ५२ अर्व ३४ करोड ७४ लाख ७९ हजारको मात्र आयात भएको छ।
सरकारको नीतिको कारण सवारी आयात र राजश्वमा गिरावट आएको नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका उपाध्यक्ष ध्रुव थापाको दाबी छ।
‘सरकारको सवारी साधन खरिद गर्दा ५० प्रति डाउन पेमेन्ट गर्नुपर्ने नीतिले पहिलो समस्या आएको हो। त्यस्तै गाडी खरिद गर्दा ग्राहकले ट्याक्स क्ल्येरेन्स सर्टिफिकेट देखाउनुपर्ने बाध्यताले सवारी साधन आयातमा ह्रास आयो,’ थापाले सेतोपाटीसगँ भने।
गाडी खरिद गर्दा किस्ता रकम कमाइको ५० प्रतिशत भन्दा धेरै हुननहुने नीतीले सवारी साधन व्यवसाय थप निराशाजनक भएको उनले बताए।
‘अहिले कुनैपनि व्यवसाय फस्टाउन सकेको छैन। सवारी साधन व्यवसायमा गिरावट आउनु पनि यस्तै कुराहरुको ‘चेन इफेक्ट’ हो,’ थापाले भने।