नेपाल सरकारले अन्तराष्ट्रियस्तरमा मान्यता पाउने इन्टरनेशनल ड्राइभिङ्ग परमिट (आइडिपी) जारी गर्ने तयारी थालेको छ।
यातायात व्यवस्था विभागले संघीय यातायात ऐनको मस्यौदामा आइडिपी सम्बन्धी व्यवस्था समावेस गरिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
यो ऐन पारित भएको खण्डमा नेपालबाट लिइएको परमिटले संसारका आइडिपीको १ सय ३५ वटा सदस्य राष्ट्रमा १ वर्षसम्म गाडी चलाउन सकिने छ।
आइडिपी लागू भए नेपालबाट भखर्र विदेश गएका तथा त्यहाँको लाइसेन्स नपाइसकेका चालक तथा विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा हुनेछ। त्यसैगरी नेपाल घुम्न आउने पर्यटकहरुलाई पनि लाइसेन्सको झण्झट हुने छैन।
‘लाइसेन्स प्राप्त व्यक्तिले परमिटको आवेदन दिन सक्नेछन्। यो परमिटको समयावधी १ वर्षसम्म हुन्छ र त्यसपछि फेरी नविकरण गर्नुपर्छ,’ हमालले भने ‘ आफूले जुन क्याटोगोरीको लाइसेन्स पाएको छ, परमिट पाएपछि विदेशमा त्यही सवारीसाधन मात्र चलाउन पाइन्छ।’
संयुक्त राष्ट्र संघको जेनेभा अभिसन्धी १९४९ र भिएना अभिसन्धी १९६८ मा सडक ट्राफिक र सवारी साधन, सवारी चालक अनुमतीपत्रसँगै आइडीपी सम्बन्धी व्याख्या गरिएको छ।
यो अनुसार आफ्नो देशको लाइसेन्सको आधारमा अरू देशमा सोझै गाडी चलाउन पाइने छ।