नेपालमा विद्युतीय सवारी साधनको रोजाई बढ्दो क्रममा छ। विशेषत २०७२ सालको भारतीय नाकाबन्दीपछि नेपालीहरुमा विद्युतीय सवारी साधनको मोह बढेको जानकारहरु बताउँछन्।
भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनामा १ अर्ब ५४ करोड ३१ लाख ७० हजार ४४ सय ७ रुपैयाँको विद्युतीय सवारी साधन आयात भएको छ। यसमा १ हजार ५ सय २५ वटा सवारी साधन आयात भएका हुन्।
गत वर्ष यही अवधिमा ६५ करोड ८६ लाख ९४ हजार ८० रुपैयाँको मात्रै विद्युतीय सवारी साधन आयात भएको थियो।
तथ्याङ्कअनुसार नेपालमा विद्युतीय सवारी साधनप्रति विश्वास बढ्दो छ।
नेपालीहरुको यही लगावको कारण नेपालका गाडी आयातकर्ताहरुले विभिन्न प्रकारका विद्युतीय सवारी आयात गरिरहेका छन्। हाल नेपालमा हुण्डाई, महिन्द्र, किया, विवाईडी लागायतले विद्युतिय गाडी बेचिरहेका छन्।
यो होडमा हुण्डाई अग्र पंक्तिमा देखिन्छ। हुण्डाईको नेपालको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले २०१८ को नाडा अटोबाट विद्युतीय गाडी बजारमा ल्याएको हो। त्यो समयमा हुण्डाईको आयोनिक ल्याइएको थियो।
आयोनिक १२ ओटा विक्री भएको लक्ष्मी इन्टरकन्टिनेन्टल मार्केटिङ तथा कम्युनिकेशन हेड अवाशिस ओझाले जानकारी दिए।
त्यसपछि २०१९ को जनावरीमा हुण्डाईको कोना नेपाल भित्रियो। कोना नेपालका धेरै रुचाइएको विद्युतिय सवारी साधनमा पर्छ। यो १ वर्षको अन्तरालमा ३ सय भन्दा धेरै विक्रि भएको र करिव १ सयको हाराहारीमा बुकिङ भएको ओझाले जानकारी दिए।
‘अहिले ग्राहकको आकर्षण एसयुभीमा छ। त्यसकारण कोनाको माग उच्च छ। तर आयोनिकको इन्क्वायरी र सेल्सलाई पनि नराम्रो भन्न मिल्दैन,’ उनले सेतोपाटीसँग भने।
केही दिन अगाडि मात्र हुण्डाई आयोनिकको फेसलिफ्ट पनि नेपाली बजारमा ल्याइएको छ।
पहिलो चरणमा ल्याइएको ४ ओटा बुकिङ भइसकेको र अरू पनि बुकिङ भइरहेको उनले जानकारी दिए। ओझाकोअनुसार अहिलेसम्म हुण्डाईको ३ सय १२ ओटा विद्युतिय गाडी विक्री भइसकेको छ।
कोना दुईवटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले यसको मूल्य ५५ लाख ९६ हजार र ६५ लाख ९६ हजार निर्धारण गरेको छ। त्यस्तै, आयोनिकको मूल्य ५५ लाख ९६ हजार छ।