सोमबारदेखि सबै सवारी साधन वर्कसप बन्द हुने भएको छ।
नेपाल अटोमेकानिक्स व्यवसायी संघले चैत १० गतेदेखि ७ दिनका लागि सेवा बन्द गर्न अनुरोध गरेको संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले जानकारी दिए।
‘हाम्रो क्षेत्र धेरै संवेदनशील क्षेत्र हो। स्टाफ र सेवाग्राही दुवैको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर एक हप्ताको लागि देशभरको वर्कसप बन्द गर्न लागेका हौ,’ न्यौपानेले सेतोपाटीसँग भने।
संघले एम्बुलेन्स, अस्पताल, सुरक्षा निकायका सवारी साधन मर्मत गर्नुपर्नेमा माक्स, पन्जा प्रयोग गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजर जस्ता अल्कोहल–बेस्ड सोलुसनको प्रयोग गरी सुरक्षित रहन आह्वान गरेको छ।
‘यो क्षेत्रमा धेरै साथीहरू पढे-लेखेको हुनुहुन्न। त्यसकारण ‘हाइजिन मेनटेन’ गर्न समस्या छ। त्यसकारण एक हप्ता पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका हौं,’ न्यौपानेले भने।