धापाखेलमा ललितजंग मालीले ट्याक्सी चलाउन थालेको १५ वर्ष भयो। कती अरुको गाडी चलाउनु भनेर पोहोर किस्तामा ट्याक्सी किने।
त्यही ट्याक्सीबाट ७ जानाको परिवार र ट्याक्सीको किस्ता जसोतसो धान्दै थिए। लकडाउन भएदेखि उनको ट्याक्सी थन्किएको छ तर खर्च उस्तै।
‘काम गर्न पाएको छैन। बाँच्न त जसोतसो सकिएला किस्ता पो कसरी तिर्ने’ मालीले गुनासो पोखे।
सरकारले दैनिक ज्यालादारी मजदुरलाई राहत प्याकेज ल्याउँदा ट्याक्सी चाललाई पनि सम्बोधन गर्नुपर्ने उनले माग गरे।
‘ऋणको ब्याजमा केही मिनाहा भयो भने हामीलाई केही राहत हुन्थ्यो। त्यसै गर्छ भन्ने आशा त बाकीँ नै छ,’ मालीले सेतोपाटीसगँ भने।
लमजुङ घर भई सातदोबाटोमा एउटा कोठा भाडामा लिई बस्ने शंकर अधिकारीको समस्या पनि उस्तै छ।
लकडाउन लम्बिए ट्याक्सीको मासिक ३२ हजार किस्ता कसरी तिर्ने भन्ने चिन्ता छ शंकरलाई।
‘अरुबेलामा त मेरो ४ जाना परिवार र किस्ता यही ट्याक्सीले धानेको थियो। अब त काम गर्न पाएको पनि छैन। भएको पैसा पनि सकिँदै छ। किस्ता पो कसरी तिर्ने,’ उनले भने।
यस्तो समस्या उपत्यकामा १२ हजार ३ सय ८५ ओटा ट्याक्सीलाई परेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पुर्वछाने मगरले बताए।
‘लकडाउन लामै जाला जस्तो छ। सरकारले ट्याक्सी नचलेको समयको ऋण मिनाहा वा छुट दिनुपर्छ।’
त्यस्तै सरकारले तत्कालको लागि ट्याक्सी चालकहरुलाई बाच्ने आधार बनाइदिनुपर्ने उनले माग गरे।
‘मलाई धेरै चालकहरुले खान समेत समस्या छ भनेर फोन गरीरहनु भएको छ। सरकारले यस्ता चालकहरुलाई राहत दिएर बाच्ने आधार बनाइदिनुपर्छ’ मगरले सेतोपाटीसगँ भने।