अटोमोवाइल व्यवसाय जोगाउन आर्थिक कारोवारमा समय थप गनुपर्ने व्यवसायीले सुझाव दिएका छन्।
लकडाउनको कारणले सम्पुर्ण कारोवार ठप्प भएकोले भ्याट, ट्याक्स, किस्ता लगायत तिर्न नेपाल राष्ट्र बैंकले २ महिना समय दिनुपर्ने नाडा अटोमोवाइल एसोसियसन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले बताए।
‘मुलुक नै संकटमा परेको छ। हामीलाई कुनै छुट चाहिदैन। तर भ्याट, ट्याक्स, किस्ता तिर्न लकडाउन सकिएपछि व्यवसायीले २ महिना पाए भने धेरै व्यवसाय जोगिन्छ,’ दुलालले सेतोपाटीसगँ भने।
बैंकको ब्याज १/२ प्रतिशत मात्र घट्यो भनेपनि व्यवसायीलाई धेरै राहत हुने उनले बताए।
‘राष्ट्र बैंकले केही समयको लागि बचतमा पनि थोरै ब्याज दिने र लोनमा पनि थोरै ब्याज लिने पोलिसी ल्यायो भने साना/ठूला सबै प्रकारका व्यवसाय बन्द हुनबाट जोगिन्छ,’ उनले भने।