उपत्यकामा ट्याक्सी सेवा दिइरहेको सारथीले ट्याक्सी सेवा सुरु गर्ने तयारी थालेको छ।
लकडाउनको समयमा धेरै व्यक्तीले बिरामी पुर्याउन फोन गरेर आग्रह गर्दा समेत नसकिएकोले जिल्ला प्रशासन कार्यालयबाट पास लिन लागिएको सारथीका को–फाउण्डर प्रकाश न्यौपानेले जानकारी दिए।
‘मान्छे बिरामी परेको अवस्थामा कतिपयले आफ्नै गाडीमा हालेर पनि लैजानु भएको छ तर गाडी नहुनेलाई आपत छ,’ उनले सेतोपाटीसगँ भने।
यसको लागि सबै तयारी पुरा भइसकेको र भोली पासको लागि निवेदन दिइने उनले बताए।
‘हामीलाई जिल्ला प्रशाशन कार्यालयमा अनलाइनबाटै निवेदन दिनु भन्नु भएको छ। पास पायौ भने चालकलाई पिपिई, सेनिटाइजर, ग्लब्स लगायतका स्वास्थ्य सुरक्षाको उपकरण उपलब्ध गराएर काम सुरु गर्छौ,’उनले भने।
यो सेवा ८–९ ओटा ट्याक्सीबाट मात्र गर्ने न्यौपानेले स्पष्ट पारे।
‘यी ट्याक्सी बाटोमा मान्छे ढुकेर बस्ने होइन। कोही विरामी भएर हामीलाई सम्पर्क गर्नुभयो भने त्याहाँ पास धारी सबैभन्दा नजिकको ट्याक्सीसगँ सम्पर्क गराइदिन्छौ,’ न्यौपानेले भने।