नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले लक डाउनलाई केहि खुकुलो बनाउदै लानु पर्ने माग गरेको छ।
आम जनताको स्वास्थ रक्षाको लागि सरकारको यो कदम आवश्यक भएपनि लक डाउनको अवधि थपिदै गएसंगै अन्य विभिन्न समस्याहरु पनि थपिदै गएको सन्दर्भमा जनता कै हितका लागि लक डाउनलाई केहि खुकुलो बनाउनु पर्ने आवश्यकता देखिएको नाडाले बताएको छ।
‘लक डाउनका कारण अटोमोवाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका छन् र उनिहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनुपर्ने अवस्थाबाट जोगाउन सरकारले राहत प्याकेज ल्याउन पर्छ’,नाडाले भनेको छ।
यस्तो छ नाडाले सरकारसगँ मागेको राहत प्याकेजः
१. अटोमोवाइल उद्योग, वर्कशप, शो रुम र कार्यालयमा कार्यरत कर्मचारीलाई दिनुपर्ने तलवका विषयमा नेपाल उद्योग वाणिज्य महासंघले तय गरेअनुसार लक डाउन अवधिको न्यूनतम तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्ने गरी व्यवस्था गरिनु पर्ने।
त्यसैगरी श्रमिकलाई भुक्तानी गर्नुपर्ने पारिश्रमिक, रोजगारदाता, श्रमिक र सरकार तीन ओटै पक्षको बराबर योगदान रहने गरी भुक्तानी गर्ने व्यवस्था गर्नु पर्ने। लकडाउनको अवधि थप लम्बिदै गएको अवस्थामा स्थितिको मूल्याङ्कन गरी पारिश्रमिक भुक्तानी स्थगित गर्नु उपयुक्त हुने।
२. भन्सार परिसरमा भएका सवारी साधन तथा स्पेयस पार्टस लगायतका बस्तुहरुमा लाग्ने डेमरेज चार्ज मिनाहा हुनुपर्ने। त्यसैगरी भारत तथा तेश्रो मुलुकबाट आयातको क्रममा रहेको कन्टेनरहरुको, कन्टेनर डिटेन्सन चार्ज पनि सतप्रतिशत मिनाहा हुनुपर्ने।
३. नेपाल राष्ट्र बैङ्कको हालै प्रकाशित निर्देशन अनुसार २ प्रतिशत बैङ्कको व्याज घटाउने निर्णय सकारात्मक र उत्साहजनक छ। यसै सन्दर्भमा बैङ्कहरुले पनि यो उत्तरदायित्व बुझेर आ—आफनोतर्फबाट पनि केही छुटको घोषणा गर्नु पर्दछ। र साथै व्यवसायको संरक्षणका लागि बैङ्क व्याजको किस्ता तिर्ने समयावधि ६ महिनासम्म थप गरिनु पर्ने।
४. भ्याटको रकम २०७७ बैशाख २५ गतेसम्म बुझाउनु पर्ने व्यवस्थालाई २०७७ साल जेठ २५ गतेसम्म पुर्याउनु पर्ने।
५. देशको अर्थतन्त्रलाई केही चलायमान बनाउन अव २०७७ बैशाख २६ गते देखि व्यापार व्यवसाय र उद्योग क्षेत्रलाई शुरक्षित बनाउँँदै आफनो व्यापार व्यवसाय सञ्चालनको लागि लकडाउन खोल्नुपर्ने।