भन्सार विभागले जेठ १ देखि १४ सम्म जम्मा ९३ ओटा विद्युतीय गाडी नेपाल आएको प्रष्टीकरण दिएको छ।
बजेटसँगै आउने आर्थिक ऐनबाट विद्युतीय गाडीमा कर बढेको थियो। कर बढ्ने सूचना चुहाएर बजेटअघि विद्युतीय गाडी छिराएको सरकारमाथि आरोप लागेको थियो।
उक्त आरोपको खण्डन गर्दै भन्सार विभागले स्वभाविक रुपमा विद्युतीय गाडीको आयात भएको जानकारी दिएको छ।
'व्यवसायीहरुले अनुमानको भरमा गाडी आयात गरेका हुन्। जुन अघिल्ला वर्षहरुमा पनि ल्याउँथे' विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
विभागको तथ्यांकअनुसार साउनदेखि जेठ १४ गतेसम्म ५७४ विद्युतीय गाडी आयात भएका छन्। अघिल्लो वर्षको यही अवधिमा ३६१ ओटा आयात भएका थिए।
यही अवधिमा यो वर्ष पेट्रोल-डिजेलबाट चल्ने ९ हजार ७७५ गाडी आयात भएका छन्। अघिल्लो वर्ष यस्ता गाडी १६ हजार ५१३ आयात भएका थिए।