एमजी मोटर्सको लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सरकारी सूचना चुहावट गरी/गराई अनावश्यक लाभ लिन बजेटको एक दिन अगाडि सवारी साधन भित्राउन अफ्नो संस्थाको भूमिका रहेको भन्ने समाचार कपोकल्पित भएको दावी गरेको छ।
कम्पनीले विज्ञप्ती जारी गर्दै यस्ता समाचारले अनावश्यक भ्रम फैलाउनुको साथै कम्पनीको मान, प्रतिष्ठामा आँच पुर्याएको बताएको हो।
कम्पनीले केही महिनाअघि हाम्रा ग्राहकले अग्रिम बुकिङ गरेको आधारमा एमजी मोटर्सका विद्युतीय सवारी साधनको प्रतितपत्र (एलसी) खोलेर आयात गरेका थियौं र सोही क्रममा ती सवारी साधनहरु नेपाल भित्रिन थालेका विज्ञप्तीमा उल्लेख छ।
यसरी विभिन्न समयमा खोलिएका प्रतितपत्र अन्तर्गतका सवारी साधन नेपाल ल्याउने क्रममा नेपाली सीमामा आई पुगेका र भन्सार छुटाउनु अघि ड्राइ पोर्टमा धेरै दिन कन्टेनरमा सवारी साधन राख्नु पर्दा ढिलाई बापतको क्षति शुल्क तिर्नुपर्ने हुनाले सोहीअनुसार उल्लेखित मितिमा हामीले यी सबै सवारी साधनपनि नेपाल भित्राएको पारामाउन्टले स्पष्ट पार्यो।
‘हामीले हाम्रा ग्राहकले अग्रिम बुकिङ गरेका १२० सबै सवारी साधन सोही बुकिङ मुल्यमा नै बुकिङ प्राथमिकताको आधारमा ग्राहकलाई हस्तान्तरण गर्ने र यसमा नयाँ भन्सार दरबाट पर्न आउने कुनै पनि असर नपर्ने हुँदा विभिन्न समाचार मार्फत यस कम्पनीलाई बढेको करबाट अनावश्यक फाइदा लिन खोजेको भनेर लगाइएको आरोप गलत र झुटो रहेको स्पष्ट पार्न चाहन्छौं,’ कम्पनीले भन्यो।