यातायात व्यवसायी तथा मजदुरले गाडी चलाउने वातावरण बनाइदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्।
बिहिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं र मजदुर ट्रेड युनियनका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपालको यातायात क्षेत्रको अहिलेको अवस्था र दीर्घकालिन असरको बारेमा अवगत गराएको महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए।
‘हामीले भन्दै आएका गाडीको किस्ता, सफ्ट लोन, पुनर्कर्जा, गाडीका स्टाफको बीमा र स्वास्थ्य, यात्रुको स्वास्थ्य जोखिम लगायतको जानकारी दिदैं सहयोगको लागि अनुरोध गर्यौ,’ सिटौलले सेतोपाटीसगँ भने।
व्यवसायीको समस्या सुनेपछि प्रधानमन्त्री ओलीले सार्वजनिक यातायात संचालनका लागि सरकारले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताएका छन्।
कोभिड– १९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे यातायात ब्यवसायी र मजदूर संगठनका प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित भएका सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामर्थ्य अनुरुप समाधानमा अग्रसर रहने बताए।
‘कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे। जनताको दैनिक जिविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ’ ओलीले भने ‘सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिए हुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो। सार्वजनिक यातायात सञ्चालन गर्न के कस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्ने छ।’
बिहिबार प्रधानमन्त्रीलाई यातायात क्षेत्रको समस्याको जानकारी दिन महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला, उपमहासचिव बसन्त भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका रामचन्द्र कार्की र नेपाल यातायात मजदूर संघका धर्मराज भण्डारीे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।