सानेपाको काठमाडौं अटो स्टेशनमा लकडाउन अघि १६/१७ जनाले काम गर्थे। लकडाउन भएपछि धेरैजसो आ–आफ्नो घर गए।
हाल लकडाउन खुलेपछि बाकीँ रहेका ५/६ जना ‘मेकानिक’ले सबै काम भ्याउनु परेको काठमाडौं अटो स्टेशनका संचालक नैना बहादुर तामाङले जानकारी दिए।
‘धेरै समय गाडी नचलेपछि सबैजसो गाडीमा साना–साना समस्या देखिएका छन्। केही समस्या नभएकाहरुले पनि एकपटक ‘चेक’ गाराउन ल्याउनुहुन्छ। मेकानिक कम भएको कारण हामीलाई भ्याउनै गाह्रो छ,’ तामाङले सेतोपाटीसगँ भने।
आवस्यकताको हिसावले गाडीलाई रोटेसनमा राखिएको उनले जानकारी दिए।
‘आवस्यकता हेरेर एकदमै आवश्यक भएका हरुलाई तुरुन्तै गरिदिन्छौं र कम आवस्यकता भएकालाई केही दिन पर्खाउँछौं,’ उनले भने।
धेरैजसो गाडीमा ब्याट्री, मोबिल, ब्रेक लगायतमा समस्या देखिएको उनले बताए।
लकडाउन अघिको तुलनामा सर्भिसिङ गर्नेको संख्या बढेको पेप्सिकोलास्थित बिजय मोटरसाइकल वर्कसपका संचालक बिजय राजु तामाङले जानकारी दिए।
‘सर्भिसिङ गर्न आउनेको संख्या बढेको छ। धेरैजसो मोटरसाइकलमा प्लग, ब्याट्रीमा समस्या देखिएको छ,’ उनले भने।
अधिकांश मेकानिक काठमाडौं बाहिर गएकोले वर्कसपहरुमा धेरै चाप देखिएको नेपाल अटोमेकानिक्स महासघंका महासचिव ठाकुर प्रसाद न्यौपानेले जानकारी दिए।
‘करिव ५० प्रतिशत मेकानिक भारतीय छन्। त्यस्तै, ३० प्रतिशत तराई र करिब २० प्रतिशत अन्य ठाउँका छन्।
नेपालका मेकानिक त धेरै काममा फर्किसके तर बहुसंख्यक भारतीय मेकानिक ल्याउन नसकिएको कारण वर्कसपमा धेरै चाप भएको हो,’ न्यौपानेले भने।
वर्कसपमा मेकानिकको अभावले एक दिन गाडी बिग्रदा २ दिन पर्खनुपर्ने अवस्था आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।
‘चालक–सहचालक नभएर धेरै गाडी त चलेकै छैनन्। चलेका गाडीमा केही समस्या आए वर्कसप खोज्दै हिड्नुपर्ने अवस्था छ,’ उनले भने।