दश दिन अगाडि सार्वजनिक भएको टेल्जीको इलेक्ट्रिक स्कुटर ‘सोल्डआउट’ भएको छ।
यो अवधिमा टेल्जीका ३० ओटा लायन र ४२ ओटा टाइगर मोडलका विक्री भएको टेल्जीको नेपालका लागि आधिकारिक वितरक यम मा ई मोटर्स प्रालीका निर्देशक सन्जिव शिल्पकारले जानकारी दिए।
सार्वजनिक भएसँगै यसको इन्क्वायरी, बुकिङ र सेल्स उच्च रहेको उनले बताए।
‘हाम्रा दुवै स्कुटरमा ग्राहकको चाख उच्च पायौं। ब्राण्ड लन्च भएको १० दिन भित्रै ७२ ओटा स्कुटर बिक्नु भनेको निकै राम्रो हो। कतीलाई त पुर्याउन पनि सकिएन,’ शिल्पकारले सेतोपाटीसँग भने।
अब १ महिनामा ३ मोडलका २ कन्टेनर स्कुटर आइपुग्ने उनले जानकारी दिए।
‘हामीले अर्डर गरेअनुसार यतीखेरसम्म आइसक्नु पर्ने थियो। तर तातोपानी नाका बन्द भएको कारणले त्याहाँ बाट फर्काएर बिरगञ्जको नाका हुँदै ल्याउन लागेका छौं। १ महिना भित्र आइपुग्छ,’ उनले भने।
टेल्जीको लायन स्कुटरमा २ हजार ५ सय वाट मोटर र ६० भोल्ट, ३२ एम्पिएरको व्याट्री प्रयोग गरिएको छ। यसले फुल चार्जमा २ युनिटभन्दा कम बिजुली खपत गर्ने र ८५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ।
यसमा डिस्क ब्रेक, एलइडी प्रोजेक्टर हेडलाइट, कि लेस स्टार्ट, ट्युब लेस टायर , आरामादायी सिट, ६ इन्चको एलसिडी स्क्रिन, सेन्सर टेक्नोलोजी, थिफ्ट अर्लाम एक्टिभिसन सिस्टम लगायत विशेषता रहेका छन्। कम्पनीले यसको मूल्य १ लाख ८३ हजार निर्धारण गरेको छ।
त्यस्तै टेल्जीको टाइगर स्कुटरमा २ हजार ५ सय वाटको मोटर छ र ७२ भोल्ट ३२ एम्पिएरको ब्याट्री जडान गरिएको छ।
यसलाई फुल चार्ज गर्दा २ युनिट भन्दा कम बिजुली खपत गर्छ भने फुल चार्जमा ९५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ। यसका फिचर्सहरु लायनको जस्तै छन्। कम्पनीले यसको मूल्य १ लाख ८३ हजारनै राखेको छ।
कम्पनीले स्कुटरको ब्याट्री, मोटर र कन्ट्रोलरमा २ वर्षको वारेन्टी दिने शिल्पकारले जानकारी दिए।