नेपालमा अनलाइन सपिङ कल्चर सुरु भएको धेरै भएको छैन। अझ केही अनलाइन सपिङका कमजोरीले गर्दा ग्राहकलाई यसमा झट्ट विश्वास गर्न कठिन पनि छ।
सानातिना सामान खरिद गर्दा त छोएर हेर्नुपर्ने बानी भएका ग्राहकलाई महँगा मोटरसाइकल स्कुटर अनलाइनबाटै मगाउन त मुस्किल नै पर्ला।
दराज अनलाइन सपिङले करिव डेढ वर्ष पहिले टिभिएसका मोटरसाइकललाई अनलाइनबाटै बेच्न आग्रह गर्दा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवाललाई अनलाइनबाटै मोटरसाइकल बिक्छ भन्ने खास्सै विश्वास लागेको थिएन।
दराजको आग्रहपछि अग्रवालले केही समय यो विषयमा रिसर्च गरे।
‘दराजको एमडीले पाकिस्तानमा रहँदा दराजबाटै मोटरसाइकल बेच्ने अनुभव बटुल्नु भएको रहेछ। उहाँको अनुभव हेरेर र मार्केट अध्ययन गरेर हामी दराजमा मोटरसाइकल बेच्न राजी भयौ र केही हदसम्म सफलता पनि पायौँ,’ अग्रवालले भने।
आवद्ध भएको पहिलो वर्षमै दराजको प्ल्याटफर्म मार्फत करिव ४० वटा टिभिएसका मोटरसाइकल र स्कुटर विक्री भएको अग्रवालले जानकारी दिए।
‘संङ्ख्याको हिसावले थोरै मोटरसाइकल बिके पनि त्यहाँ हेरेर शोरुममा इन्क्वाइरी गर्ने धेरै पायौँ,’ अग्रवालले सेतोपाटीसगँ भने।
यही अभ्यासबाट प्रभावित भएर जगदम्बा मोटर्सले आफ्नै वेवसाइटबाट पनि मोटरसाइकल खरिद गर्नसक्ने प्रणली विकास गरेको छ र निकट भविस्यमै भर्चुअल शोरुम पनि विकाश गर्दै छ।
पहिलेदेखि नै दराजबाट मोटरसाइकल र स्कुटर राम्रै सेल्स भएपनि लकडाउनपछि भने झनै लगाव बढेको दराजका चिफ कर्मसियल अफिसर टेम्पल प्याकुरेलले जानकारी दिए।
हाल दराजमार्फत टिभिएस, यामाहा, सुजुकी, बेनेल्ली, एनआईयु, अप्रिलिया, भेस्पा लगायतका मोटरसाइकल र स्कुटर खरिद गर्न सकिन्छ भने निकट भविस्यमा चार पांग्रे सवारी साधनको पनि प्ल्याटफर्ममा राख्ने दराजले बताएकाे छ।
अनलाइनबाटै सवारी साधन खरिद विक्रीको अथाहा संभावना भएको प्याकुरेलको तर्क छ।
‘विश्वव्यापी अटोमोबाईल उद्योग मात्र यस्तो उद्योग थियो जुन अनलाइन खरिद–विक्रीबाट प्रभावित थिएन। तर अहिले त्यो परिवर्तन हुँदैछ। दुबै आपूर्तिकर्ता र ग्राहकहरू अनलाइनबाट बेच्न र खरिद गर्न इच्छुक छन्। यदि हामी इएमआई सुविधाको लागि उचित प्रविधि एकिकृत गर्न सक्षम भयौं भने संभावनाहरु अनन्त छन्,’ उनले सेतोपाटीसगँ भने।
प्रविधीको विकाश नभएसम्म यो काम त्यति सहज नभएको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृृष्ण प्रसाद दुलाल बताए।
‘हाल ९० प्रतिशत भन्दा धेरै सवारीसाधनको काराेबार लोनमा हुन्छ। हाम्रा बैंकहरु जुन दिन अनलाइनबाटै लोेन मिलाउने लेबलमा पुग्छन् त्यो दिन बल्ल यो सम्भव हुन्छ,’ दुलालले भने।
दुलालका अनुसार अनलाइन स्टोरबाट अहिले संख्यातमक रुपमा थोरै विक्री भएपनि भविष्यकाे लागि यस्ता अभ्यास गर्नुपर्छ।