यामाहाको नेपालको लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले आफ्नो नयाँ स्कुटर भर्चुअल रुपमा सार्वजनिक गर्ने भएको छ।
कम्पनीले रे जेडआर १२५ असोज ७ गते यामाहाको युट्युब च्यानलमार्फत सार्वजनिक गर्न लागेको हो। लाइभ टेलिकास्ट कार्यक्रम हेर्ने दर्शकहरुबाट एकजनालाई लक्की ड्र मार्फत नयाँ रेज जेडआर १२५ बाट पुरस्कृत गरिने कम्पनीले जनाएको छ।
यस्तो छ स्कुटर
यो स्कुटर १२५ सिसीको फ्युल इन्जेक्सन इन्जिन हुनेछ। यसले ६ हजार ५ सय आरपीएममा अधिकतम ८ बिएचपी पावर र ५ हजार आरपीएममा ९.७ एनएम टर्क उत्पन्न गर्नेछ।
५.२ लिटर फ्युल ट्यांक क्यापसिटी रहेको र जेडआर १२५ को माइलेज ६६ किलोमिटर प्रति लिटर हुने कम्पनीको दावी छ।
त्यस्तै यसमा युनिफाइड ब्रेकिंग सिस्टम (युएसबी), डिजिटल स्पिडोमिटर, डिजिटल टेकोमिटर, १२ इन्चको एलोइ ह्विल, मल्टि फंक्सन कि, फोल्डेबल हुक, युएसबी चार्ज, साइड कटअफ स्विच जस्ता फिचर रहेका छन्।
कम्पनीले हाल यसको मूल्य भने सार्वजनिक गरेको छैन।