लामो समयदेखि सुस्ताएको अटोमोवाइल बजार अहिले जुर्मुराएको छ।
पहिलो लकडाउन सकिएपछि दुई पाङ्ग्रे सवारीको बजार केही बढेको थियो। तर, चार पाङ्ग्रेको बजार खास उक्सिन सकेको थिएन। त्यस्तै, यो वर्ष कोरोना महामारीका कारण नाडा अटो शो हुन नसकेपछि अटोमोवाइल व्यवसायी झनै निराश बनेका थिए।
अहिले चाडवाड नजिकिएसँगै सवारी व्यवसाय चलमलाउन थालेको हो। विगत वर्षमा झैं वितरकहरुले दशैंका लागि विभन्नि छुट तथा उपहार योजना ल्याएपछि शोरुमहरुमा भीड बढेको हो।
पेप्सीकोलाका समुद्र थापा टेकुको यामाहा शोरुममा भेटिए। यामाहाले दशैं स्किम ल्याएको थाहा पाएर उनले पुरानो मोटरसाइकलसँग नयाँ साट्ने योजना बनाएका छन्।
‘दशैं स्किम आएको रहेछ। एक्सचेन्ज बोनस पनि छ भन्ने सुनेँ। स्किम चित्त बुझ्यो भने एक्सचेन्ज गर्छु,’ समुद्र भने।
थापाथली स्थित निशानको शोरुममा हामीले नयाँ बानेश्वरका केबी निरौलालाई भेट्यौँ। उनी नयाँ गाडी किन्ने तर्खरमा थिए।
‘गाडी फेर्ने सोच थियो। निशानको ‘किक्स’ मन परेको छ। स्किम बुझौं, मन पर्यो भने किन्छु,’ उनले भने।
पछिल्लो केही दिनमा शोरुममा आउनेको संख्या आकासिएको टेकुस्थित यामाहा शोरुमका इन्चार्ज रहिस स्थापितले जानकारी दिए।
‘यामाहाको नयाँ स्कुटर भर्खरै सार्वजनिक भएको र स्किम पनि भर्खरै आयो। कोरोना त्रास बीचमा पनि सोरुममा ओहोरदोहोर बढेको छ,’ उनले भने।
यो शोरुमबाट मात्रै दैनिक १२ देखि १५ वटासम्म बाइक र स्कुटर बिक्री भइरहेको उनले बताए।
‘सरकारले पछिल्लो समयमा जोर–विजोरको नियम लागू गरेको थियो। यसकारण आफ्नो आवश्यकता अनुसार जोर विजोर नम्बर किन्न थालेका छन्।
त्यस्तै कोरोनाका कारण सार्वजनिक यातायात चढ्न डराउनेहरु पहिलोपटक किन्ने पनि धेरै आउनु हुन्छ,’ स्थापितले भने।
स्किम सार्वजनिक गरेपछि फोनबाट सोध्नेदेखि शोरुमसम्मै आउनेहरु ह्वात्तै बढेको पायोनियर मोटोकर्पका सहायक महाप्रवन्धक ज्ञानेन्द्र बहादुर चन्दले बताए।
चन्दकाअनुसार कम मूल्यका गाडीहरु नयै किन्न आउने र पहिलै भइसकेकाहरु साट्न आउनेहरु पनि बढेका छन्।