किया सोनेट भारतमा आक्रमक रुपमा बिक्री भइरहेको छ। सार्वजनिक भएको १२ दिनमै ९ हजार २ सय ६६ युनिट बिक्री भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। यो गाडी ३५ हजार भन्दा धेरै बुकिङ भइसकेको छ।
सोनेट १.२ लिटर पेट्रोल, १.५ लिटर सिआरडिआई डिजल र १.० लिटर टर्वो जिडिआई पेट्रोल गरी ३ वटा इन्जिन अप्सनमा उपलब्ध छ।
यो विभिन्न ८ वटा रङ्गमा उपलब्ध छ। यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटोसगैँ १०.२५ इन्चको टचस्क्रिन जडान गरिएको छ।
सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, अगाडि र पछाडि पार्किङ सेन्सर, एबिएससगैं इबिडी, ब्रेक असिस्ट, टायर प्रेसर मोनिटर, अटो हेडल्याम्प लगायतका फिचर्स दिइएको छ।
दसैँ लगत्तै सोनेट नेपाली बजारमा उपलब्ध हुने कियाको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ सहायक महाप्रवन्धक अनिश लामिछानेले जानकारी दिए।
‘‘हामीले त दसैँअघि नै ल्याउने तयारी गरेका थियौँ। केही कागजी प्रकृयाको कारण ढिलो भयो। दसैं लगत्तै ग्राहकलाई सोनेट उपलब्ध गराउन सक्छौं,’ उनले सेतोपाटीसगँ भने।
पहिलो चरणमै ३ सय बढी गाडी अर्डर गरिएको उनले बताए। लामिछानेका अनुसार १.२ लिटर पेट्रोल र १.५ लिटर सिआरडिआई डिजेल गरी २ इन्जिन अप्सनका सोनेट नेपाली बजारमा उपलब्ध हुनेछ।