मध्यम वर्गिय परिवारको लागि गाडी उत्पादन गरी ख्याति कमाएको डाट्सनले फेरि नेपालमा २५ लाखभन्दा सस्तो गाडी सार्वजनिक गरेको छ।
डाट्सनको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले २३ लाख ९९ हजार पर्ने ‘अल न्यू डाट्सन रेडी–गो १.०’ सर्वजनिक गरेको हो। कम्पनीले यसको टि(ओ) अप्सन नेपालमा ल्याएको हो। कम्पनीले अन्य अप्सन पनि छिट्टै बजारमा ल्याउने योजना बनाएको छ।
९ सय ९९ सिसी इन्जिन क्षमताको यो गाडीले ५ हजार ५ सय ५० आरपिएममा ६७.०५ एचपी पावर र ४ हजार २ सय ५० आरपिएममा ९१ एनएम टर्क जेनेरेट गर्छ।
५ सिट क्षमता भएको यो गाडीले २१.७ किलोमिटर प्रतिघण्टाको माइलेज दिने कम्पनीको दावी छ। नयाँ रेडि–गोमा १८७ मिलिमिटरको सेगमेन्ट उच्च ग्राउण्ड क्लियरेन्स र वेस्ट इन क्लास फिचरहरु रहेको कम्पनीको दावी छ।
कम्पनीका अनुसार यसमा रहेको ८ इन्चको टच स्क्रीन, एडभान्स एण्ड्रोइड तथा एप्पल कार प्ले मार्फत् सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ।
यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउन त्यसै किसिमको बढी स्ट्रक्चर राखिएको कम्पनीको दावी छ। त्यस्तै यसमा डुअल एयर ब्याग, रियर भ्यू क्यामरा, रियर सिट वेल्ट लगायतका फिचर्स समावेस छन्। यो स्यान्डस्टोन ब्राउन, भिभिड ब्लु, ब्लेड सिल्भर, ब्रोन्ज ग्रे, ओपल ह्वाइट तथा फायर रेड रङ्गमा पाइनेछ।
पायोनियोर मोटोकर्पले यसमा १ वर्षको वा २० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ। त्यस्तै पहिलो चरणका ग्राहकहरुलाई भने ३ वर्ष वा ३० हजार किलोमिटरसम्म वारेन्टी दिइने कम्पनीले घोषणा गरेको छ। त्यसैगरी खरिद कर्ताले चालू आर्थिक वर्षको सवारी कर तिर्नु नपर्ने कम्पनीले बताएकाे छ।