कुनैपनि अटोमोवाइल कम्पनीलाई उचाइमा लैजान एउटा मोडलको ठूलो भुमिका हुन्छ।
एउटा मोडल सफल भएमा कम्पनीले त्यही मोडललाई विकसित गरेर नयाँ-नयाँ मोडलका सिरिज निकाल्ने अभ्यास धेरै भइरहेको पनि छ।
भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीलाई अल्टो त्यस्तै सावित भएको छ।
अल्टो भारतमा मात्रै नभइ नेपालमा पनि निकै चर्चित छ। नेपालमा विशेषत अल्टो ट्याक्सीको लागि प्रयोग हुने गरेको छ।
मिडिया रिपोर्टसका अनुसार अल्टो ४० लाख भन्दा धेरै युनिट बिक्री भइसकेको छ। सन् २००० मा सार्वजनिक भएको अल्टो २० वर्षसम्म पनि बजारमा आफ्नो दह्रो अस्तित्व कायम राखिरहेको छ।
१६ वर्षदेखि अल्टो सबैभन्दा धेरै बिक्ने इन्ट्रिलेबल गाडी भएको कम्पनीका मार्केटिङ तथा सेल्स एक्जुकेटिभ शशांक श्रीवास्तवको दावी छ।
प्रत्येक अपडेटपछि यसको आकर्षण बढ्दै गइरहेको उनले बताए। आर्थिक वर्ष २०१९/२० का अल्टो किन्नेमध्ये ७६ प्रतिशत ग्राहक पहिलोपटक गाडी किन्ने ब्यक्ती भएको श्रीवास्तवले बताए। आगामी आर्थिक वर्ष यो आकँडा ८४ प्रतिशत पुग्ने कम्पनीको अनुमान छ।
सन् २००० मा पहिलो पटक सार्वजनिक भएको अल्टो २००८ सम्म आइपुग्दा १० लाख युनिट विक्री भएको थियो।
२०१२ सम्म २० लाख युनिट विकेको यो गाडी २०१६ सम्म ३० लाख युनिट बिक्री भयो। सन् २०२०सम्म आइपुग्दा यसको सेल्स ४० लाख युनिट पार गरेको हो। अल्टो ४० भन्दा धेरै देशमा बिक्री हुने गरेको कम्पनीले जनाएको छ।