दक्षिण कोरियन अटोमोवाइल कम्पनी हुन्डाइले सन् २०१५ मा क्रेटा एसयूभी सार्वजनिक गर्यो
सार्वजनिक भएसगैँ लोकप्रिय बनेको क्रेटा हालसम्म ५ लाख २० हजार यूनिट बिक्री भइसकेको छ। यो आँकडा हेर्दा हुन्डाइले प्रत्येक ५ मिनेटमा एउटा क्रेटा बेच्न सफल भएको छ।
यो ५ वर्षमा हुन्डाइले क्रेटाको विभिन्न संस्करण निकालेको छ। कम्पनीले गत मार्चमा सार्वजनिक गरेको पछिल्लो संस्करणको क्रेटाले पनि राम्रो बजार लिइरहेको कम्पनीकाे भनाइ छ।
सार्वजनिक भएको ६ महिनामै भारतमा क्रेटा आफ्नो सेग्मेन्टको ‘बेस्ट सेलिङ’ कार बन्न सफल भएको आजतकले जनाएको छ। यो अवधिमा कुल ४६ हजार ५१ यूनिट क्रेटा बिक्री भएको छ। आजतकका अनुसार यसको बूकिङ १ लाख १५ हजार भन्दा धेरै छ।
नेपालमा पनि असोजको पहिलो सातादेखि नयाँ क्रेटाको बिक्री सुरु भएको थियो। नेपालको लागि हुन्डाइ मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘नयाँ क्रेटा’ ४ वटा पेट्रोल र २ वटा डिजेल भेरियन्टमा ल्याएको हो।
नयाँ क्रेटामा मनोरन्जनको लागि २६.०३ सेन्टिमिटरको ‘एचडी’ इन्फोटेन्टमेन्ट सिस्टम जडान गरिएको छ। त्यस्तै स्टेरिङमा लेदरले र्याप गरिएकाले हेर्दा सुन्दर र समाउँदा आरामदायी हुने कम्पनीले जनाएको छ।
सुरक्षाका लागि नयाँ क्रेटामा बलियो बडी संरचनासँगै फ्रन्ट डुअल एयर ब्याग, ड्राइभर रेयर भ्यू मोनिटर, हिल स्टार्ट असिस्ट कन्ट्रोल, भेइकल स्ट्याविलिटी म्यानेज्मेन्ट, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल लगायतका फिचर्स रहेका छन्।
नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिनमा उपलब्ध छ। कम्पनीले नयाँ क्रेटाको मूल्य ४३ लाख ९६ हजारदेखि ५४ लाख ९६ हजारसम्म निर्धारण गरेको छ।