सवारी साधन चलाउँदा सुरक्षामा ध्यान नदिनाले धेरैले अकालमै ज्यान गुमाई रहेका छन्।
गाडी किन्दा धेरैले मूल्य, माइलेज र बनोटको कुरामा ध्यान दिए पनि निकै कमले मात्र सुरक्षा (सेफ्टी) बारे सुक्ष्म अध्ययन गर्ने जानकारहरु बताउँछन्।
हाम्रो जस्तो मुलुकमा गाडी खरिद गर्नु धेरैको एउटा सपना हो। तर गाडी खरिद गर्दा ध्यान दिनुपर्ने कुरामा विचार नगर्दा हामीले धेरै जोखिम मोलिरहेका छौं।
पछिल्लो समय भने गाडी खरिद गर्न आउने करिब ९९ प्रतिशत ग्राहकले यस्तो सेफ्टी फिचर्सका बारेमा ध्यान दिने व्यवसायीहरु बताउँछन्।
एयर ब्याग गाडीको एक महत्वपूर्ण सेफ्टी फिचर हो। पछिल्लो समय अटोमोवाइल कम्पनीहरुले यसमा निकै ध्यान दिइरहेका छन्।
कसरी काम गर्छ त एयर ब्यागले?
एयर ब्याग कटनले बनेको बलुन हो। जुन दुर्घटना हुने वित्तिकै फुल्छ र यात्रु/चालकलाई चोटपटक लाग्नबाट जोगाउँछ।
गाडीको दुर्घटना हुने बित्तिकै अगाडि भएको सेन्सरले प्रति माइक्रो सेकेन्ड प्रेसर काउन्ट गरेर आवश्यक भएको खण्डमा एयर ब्याग निकाल्छ।
सेन्सरको सिग्नलपछि एयर ब्यागमा केमिकल रियाक्सन हुन्छ। जसले गर्दा नाइट्रोजन ग्यास एक सेकेण्डको दश गुणाभन्दा पनि कम समयमा भरिन्छ। त्यसपछि प्यासेन्जर त्यो एयर ब्यागमा ठोकिन्छन् र चोट लाग्न पाउँदैन।
प्यासेन्जर जब एयर ब्यागमा ठोकिएर पछाडि धकेलिन्छन् तब तत्काल एयरब्याग फेरि सुक्छ। यसरी एयर ब्यागले गाडी दुर्घटना पर्दा प्यासेन्जरको टाउको र घाँटी जोगाउन धेरै मद्दत गर्छ।
एयर ब्याग छ भन्दैमा सिट बेल्ट नलगाउने भने होइन। सिट बेल्ट र एयर ब्यागको छुट्टा छुट्टै काम हो।
कसरी भयो यसको सुरुवात?
गाडीमा पहिलोपटक जनरल मोटर्सले सन् १९७० मा एयर ब्याग प्रयोग गरेको थियो। सन् १९८० पछि यसको व्यावसायिक रुपमा व्यापक प्रयोग भएको पाइन्छ।
चालकको सुरक्षाको लागि प्रयोगमा ल्याइएको एयरब्याग प्रभावकारी भएपछि अटोमोवाइल कम्पनीहरुले एउटै गाडीमा सबै यात्रुका लागि भन्दै १० वटासम्म एयर ब्याग प्रयोग गरेका पाइन्छन्।
विकसित देशहरुमा अधिकांश साना सवारीसाधनमा एयर ब्याग प्रयोग अनिवार्य छ। नेपालमा पनि यसको माग र प्रयोग बढ्दो रहेको व्यवसायीहरुको भनाइ छ।