यातायात व्यवस्था कार्यालय जनकपुरको पर्खाल पछाडि धानखेतमा भेटिएको स्मार्ट सवारी चालक अनुमति पत्रबारे मन्त्रालयले छानबिन गर्ने भएको छ।
यो कार्य निकै गैरजिम्मेवारीपूर्ण भएकोले छानबिन गर्न लागिएको प्रदेश नं २, भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त प्रवक्ता अरुण लाल कर्णले जानकारी दिए।
‘हामीले यसबारे हिजो समाचार हेरेर थाहा पायौं। आज र भोलि बिदा छ। आइतबार छानबिन गर्छौं,’ कर्णले सेतोपाटीसँग भने।
लापरबाही गर्ने जो कोही भए पनि नियम अनुसार कडा कारबाही गरिने उनले स्पष्ट पारे।
यातायात व्यवस्था विभाग, काठमाडौंमा छापेर वितरणका लागि पठाइएको करिब ३ सय स्मार्ट लाइसेन्स गत बुधबार यातायात व्यवस्था कार्यालय, जनकपुरको पर्खाल पछाडि धानखेतमा फेला परेको थियो।
घटनाबारे मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइएको कार्यालयका निमित्त प्रमुख वीरेन्द्र साहले जानकारी दिए।
साथै, लाइसेन्सकाे अवस्थाबारे आफैं अचम्ममा परेकाे उनले बताए।
‘हामी आफैं अचम्मित छौं। न झ्याल फोडिएको छ, न ढोका तोडिएको छ। लाइसेन्स कसरी त्यहाँ पुग्यो,’ उनले सेतोपाटीसँग भने।
भेटिएका सबै लाइसेन्स ठिक रहेको साहले बताए।
‘सबै लाइसेन्स ठिक छ। अरू पनि यसरी नै हराएका छन् कि भनेर हामीले गणना गर्ने तयारी गरिरहेका छौं,’ उनले भने।