मंहगा मोटरसाइकलहरू बनाउने अमेरिकी कम्पनी हार्ले डेभिडसनले बिजुलीबाट चल्ने साइकल सार्वजनिक गरेको छ।
कम्पनीले आफ्नो भातृ कम्पनी 'सिरियल १ साइकल कम्पनी' मार्फत सन् १९०३ मा निर्मित पहिलो मोटरसाइकलबाट प्रभावित मोडलको बिजुली साइकल उत्पादन गरेको भारतीय सञ्चारमाध्यम जी-न्युजले जनाएको छ।
‘सिरियल १ ले साइकलमा नयाँ आयाम थप्न महत्वपूर्ण भूमिका खेलेको छ। विशेषगरी बिजुली साइकलमा केन्द्रिकृत भएकाले ग्राहकले स्वतन्त्रता र साहसिक अनुभूति सहितको बेग्लै अनुभव बटुल्न पाउनेछन्,’ सिरियल १ साइकल कम्पनीका ब्राण्ड निर्देशक आरोन फ्रान्कले भनेका छन्।
साइकलको डिजाइन आकर्षक छ। कालो फ्रेममा बनेको यो साइक हेर्दै बलियो देखिन्छ। कालो फ्रेममा सुहाउँदा सेता टायरले यसलाई अरू साइकलभन्दा फरक देखाएको छ। साथै छालाको बलियो सिट, ह्यान्डलमा पसिनाले हातमा समस्या नहोस् भनेर ग्रिप राखिएको छ।
कम्पनीले सन् २०२१ सम्ममा यो साइकलको पहिलो लट बजारमा ल्याउने तयारी गरिरहेको छ। यसको मूल्य भने अहिले घोषणा भएको छैन।
कम्पनीले बिजुली साइकलको बजार सन् २०१९ मा १५ अर्बभन्दा बढी भएको अनुमान गरेको छ। त्यही अनुरुप २०२० देखि २०२५ सम्ममा वार्षिक ६ प्रतिशतले साइकल बिक्री बढ्ने अनुमान गरिएको छ।
हार्लेसँगै कार निर्माता कम्पनी बिएमडब्लुले पनि बिजुली साइकल र मोटरसाइकल उत्पादन गरिरहेको छ।
प्रिमियम कार ब्राण्ड अउडीले बिजुलीबाट चल्ने माउन्टेन बाइक बनाइरहेको छ भने मर्सिडिज बेन्जले पनि बिजुली स्कुटर निकालिसकेको छ। फोर्डको पनि भर्खरै बिजुली स्कुटर र बाइक आएको छ।