कोरियाली कार निर्माता कम्पनी कियाले भारतमा पछिल्लो समय आक्रामक व्यापार गरिरहेको छ।
चाडबाडको महिना अक्टोबरमा यसको व्यापारमा झनै वृद्धि भएको हो।
अक्टोबरमा नवरात्री परेको र यो समयमा भारतीयहरूले सवारीसाधन खरिद गर्न शुभ मान्ने भएकोले पनि व्यापार बढेको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ।
किया मोटर्स इण्डियाको तथ्यांक अनुसार यो वर्षको अक्टोबरमा गत वर्षको तुलनामा ६४ प्रतिशत सेल्स बढेर २१ हजार २१ युनिट पुगेको छ।
कम्पनीले गत वर्ष अक्टोबरमा १२ हजार ८ सय ५४ युनिट गाडी मात्र विक्री गरेको थियो।
किया मोटर्सले अक्टोबरमा सोनेट ११ हजार ७ सय २१, सेल्टोस ८ हजार ९ सय र कार्निवल ४ सय वटा विक्री गरेको थियो।
योसँगै भारतीय सडकमा कियाका डेढ लाख सवारी साधन गुडिरहेको कम्पनीको दाबी छ। किया मोटर्स भारतको चौथो ठूलो कार निर्माता कम्पनी हो।
दीपावलीमा पनि धेरै भारतीयले गाडी किन्ने भएकोले सेल्स अझै धेरै बढ्ने कम्पनीको अनुमान छ।
किया मोटर्सले सेल्टोसबाट भारतमै प्लान्ट बनाएर बजारमा इन्ट्री गरेको थियो। बजारमा यो एसयूभीको माग उच्च छ।
कोरोनाको कारण नेपाली अटो बजार घटेको अवस्थामा कियाको सेल्स भने व्यापक बढेको किया मोटर्सको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको सहायक महाप्रबन्धक अनिश लामिछानेले जानकारी दिए।
‘समग्र अटो व्यापार ५०/५५ प्रतिशत घट्दा हाम्रो सेल्स ६० प्रतिशत बढ्यो। ग्राहकले कियालाई निकै मनपराई रहनु भएको छ,’ उनले सेतोपाटीसँग भने।
नेपालमा किया स्पोर्टेजबाट धेरै लोकप्रिय हुन थालेको उनले जानकारी दिए।
‘हामीले स्पोर्टेजको धेरै अप्सन ल्याएका थियौं। ग्राहकले त्यसलाई धेरै मन पराउनु भयो। त्यसपछि निरो इभी ल्यायौं, त्यो पनि निकै लोकप्रिय भयो। त्यसपछि सेल्टोसले त बजारमा तहल्का नै मच्चायो,’ लामिछानेले भने।
अब ल्याउन लागेको सोनेटले पनि बजारमा राम्रो प्रभाव जमाउने उनको विश्वास छ।