अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेन चुनिएका छन्। ७७ वर्षमा राष्ट्रपति चुनिएका बाइडेनले आफ्नो ३२ वर्ष पुरानो सपना पूरा गरेका छन्। आगामी जनवरी २० मा उनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन्।
बाइडेनको रुचि राजनीतिमा मात्र होइन, कार पनि छ। उनमा कारप्रतिको मोह सानैदेखि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनलाई धेरैले 'पेट्रोल-हेड' पनि भन्छन्। अर्थात्, कारप्रति अत्यधिक आकर्षित हुने व्यक्ति।
एनडिटिभीले तयार पारेको रिपोर्ट अनुसार बाइडेन कारको सेरोफेरोमै जन्मे-हुर्केका हुन्। उनका बुवाले डेलावरमा ३४ वर्ष कारको डिलरसिप सम्हालेका थिए। यसमध्ये बढी क्राइस्लर ब्रान्डका कारहरू पर्थे। क्राइस्लर अमेरिकाका ठूला कार कम्पनीमध्ये एक हो।
बाइडेनले सन् १९५१ मा स्टुडिबेकर कम्पनीको कार लिएका थिए। यो उनको पहिलो कार हो। पहिलो कार लिएको एक वर्षपछि १९५२ मै क्राइस्लरकै प्लेमथ कन्भर्टिबल कार लिए।
उनले कलेज हुँदा, सन् १९५६ मा आएर सेभ्रोले लिए। त्यसपछि मर्सिडिज बेन्ज १९० एसएल उनको कार बन्यो।
बाइडेनले सन् १९६७ मा सेभ्रोलेकै स्पोर्ट कार लिए जुन उनको सबभन्दा महंगो कार थियो। सेभ्रोले कोभेटमा ३२७ क्युबिक इन्चको भी८ मोटर जडित थियो। यो कार बाइडेनलाई उनका बुवाले विवाहको उपहार स्वरुप सन् १९६७ मा दिएका थिए।
राष्ट्रपतिमा चुनिनुअघि बाइडेनले ४४ औं राष्ट्रपति बाराक ओबामाको प्रशासनको नेतृत्वमा उप-राष्ट्रपतिका रूपमा काम गरेका थिए। त्यसबेला उनले बुलेट प्रुफ क्याडिलाक लिमोजिन चढे। तर, उनी आफैंले भने कार चलाउन पाएनन्।
एनडिटिभीका अनुसार अमेरिकी एजेन्सीको एक गोप्य सेवा अन्तर्गत राष्ट्रपति र उप-राष्ट्रपतिले आफ्नो कार्यकाल अवधिमा कार चलाउन प्रतिबन्ध छ। त्यस्तै आफ्नो कार्यकाल सकिएको ६ महिनासम्म पनि आफैं कार चलाउन अनुमति छैन।
अब फेरि पनि बाइडेनले यही नियम पालना गर्नुपर्ने हुन्छ। नियम अनुरुप उनी राष्ट्रपति रहुन्जेल कार चलाउन पाउने छैनन्। राष्ट्रपति भएपछि उनलाई अब 'द बिस्ट'नामक सशस्त्र क्याडिलाक सवारी मिल्नेछ।
बाइडेनको कारप्रतिको मोहका देखेर धेरैले उनले भविष्यमा अटोमोबाइल उद्योगका लागि नयाँ कानुन र नीति ल्याउने अनुमान गरेका छन्। अमेरिकाबाट अटोमोबाइल क्षेत्रमा ठूलो परिवर्तन आउने आशा गरिएको पनि एनडिटिभीले लेखेको छ।
नव-निर्वाचित बाइडेन र उप-राष्ट्रपति कमला ह्यारिस दुवै जलवायु परिवर्तनमा चासो राख्छन्। उनीहरूले विद्युतीय सवारीसाधनमामा जोड दिने अपेक्षा गरिएको छ। त्यस्तै आगामी चार वर्षमा स्वच्छ ऊर्जा र इ-सवारी साधनलाई प्राथमिकता दिने पनि आशा राखिएको छ।