भारतमा निकै लोकप्रिय बनेको किया सोनेट नेपाली बजारमा भित्रिएको छ।
कियाका लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया सोनेट भित्राएको हो। यो ३ वटा डिजेल र एउटा पेट्रोल गरी ४ वटा भेरिएन्टमा उपलब्ध हुनेछ।
कम्पनीले १.२ लिटर पेट्रोल 'एचटिइ भेरिएन्ट'को मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकेको छ। यसले ८२ बिपिएच पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ।
त्यस्तै १.५ लिटर डिजेल इन्जिनको 'एचटिएक्स भेरिएन्ट'को ४७ लाख ९० हजार तोकिएको छ। यो इन्जिनले १०० बिपिएच पावर र २४० एनएम टर्क जेनेरेट गर्छ।
त्यसैगरी १.५ लिटर डिजेल इन्जिनको 'एचटिके प्ल एटी भेरिएन्ट'को ४७ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ। यसले ११५ बिपिएच पावर र २५० एनएम टर्क जेनेरेट गर्छ।
त्यस्तै कम्पनीले फुल अप्सनको १.५ लिटर डिजेल इन्जिनको जिटिएक्स प्लस भेरिएन्टको मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकेको छ। यसले ११५ बिपिएच पावर २५० एनएम टर्क जेनेरेट गर्छ।
एक महिना अगाडि नै बुकिङ खुल्ला गरिएको सोनेट २ सय ५० भन्दा धेरै बुकिङ भइसकेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका सह–महाप्रबन्धक अनिश लामिछानेले जानकारी दिए।
‘हामीलाई त गाडी पुर्याउनै गाह्रो पर्ने भयो। बिहानै देखि शोरुममा भिड छ। अब छिट्टै अरु गाडी अर्डर गर्छौ,’ उनले भने।
सोनेट भारतमा पनि सार्वजनिक भएको १२ दिनमै ९ हजार २ सय ६६ युनिट बिक्री र ३५ हजार भन्दा धेरै बुकिङ भएको थियो।
यसमा ६ वटा एयरव्याग ७ स्पिकर, १०.२५ एचडी टचस्क्रिन, वायरलेस फोन चार्जर, लेदरको सिट तथा डोर प्यानल र चालक तथा यात्रुका लागि भेन्टिलेटेड सिट लगायतका सुविधा दिइएको छ।
त्यसैगरी भाइरस प्रोटेक्सन सहितको स्मार्ट प्योर एयर प्यूरिफायर, क्रिस्टल अलोए ह्विल, एलइडी साउन्ड मुड ल्याम्प, फ्रन्ट पार्किङ सेन्सर, एडभान्सड १०.६७ सेमी कलर इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्टवाच कनेक्टिभिटी लगाएतका फिचर्स छन्।
यसको ग्राउन्ड क्लियरेन्स २११ मिलिमिटर र बुट स्पेस ३९.२ लिटरको छ। यो गाडीमा कम्पनीले ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिएको छ।