संसारभर हुन्डाइको क्रेटा निकै चर्चित छ। दक्षिण कोरियन अटोमोवाइल कम्पनी हुन्डाइले सन् २०१५ मा पहिलो पटक क्रेटा एसयूभी सार्वजनिक गरेको थियो।
सार्वजनिक भएको ६ महिनामै भारतमा क्रेटा आफ्नो सेग्मेन्टको ‘बेस्ट सेलिङ’ कार बन्न सफल भएको भारतीय संचार माध्यम आजतकले लेखेको छ।
यो कार हालसम्म ५ लाख २० हजार यूनिट बिक्री भइसकेको छ। आकडा अनुसार हुन्डाइले प्रत्येक ५ मिनेटमा एउटा क्रेटा बेच्न सफल भएको छ। यो ५ वर्षमा हुन्डाइले क्रेटाको विभिन्न संस्करण निकालेको छ।
कम्पनीले गत मार्चमा सार्वजनिक गरेको पछिल्लो संस्करणको क्रेटाले पनि राम्रो बजार लिइरहेको कम्पनीको भनाइ छ।
क्रेटा नेपालमा समेत निकै चर्चित बनेको हुन्डाइको लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रवन्धक रुपेश शर्मा भट्ट बताउछन्।
‘क्रेटाका सबै मोडल चर्चित छन्। अझ यो नयाँ क्रेटा आएपछि त अर्डर पुर्याउन पनि हम्मे–हम्मे छ,’ उनले भने।
क्रेटाले दसैं तिहारमा राम्रो सेल्स गरेको उनले बताए।
१४९७ सिसी पेट्रोल इन्जिनको नयाँ क्रेटाले ६ हजार ३ सय आरपिएममा १ सय १३ बिपिएच पावर र ४ हजार ५ सय आरपिएममा १४४ एनएक टर्क जेनेरेट गर्छ। ६ गियर म्यानुअल ट्रान्समिसनको यो गाडीले १६.८ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ।
यसमा ५ वटा ढोका र ५ वटा सिट छन् भने ४ सय ३३ लिटरको बुट स्पेस रहेको छ।
क्रेटामा पावर स्टेरिङ, पावर विन्डो, एबिएस, एयर कन्डिसनर, एयर ब्याग, अटोमेटिक क्लाइमेट कन्ट्रोल, अलोय ह्विल लगायतका फिचर्स रहेका छन्।
हामीले यहाँ क्रेटाका विभन्न भेरिएन्टको मूल्य उल्लेख गरेका छौं।
भेरिएन्ट | इन्जिन क्षमता | इन्धन | मूल्य |
एस | १४९७ सिसी | पेट्रोल | ५२,९६,००० |
एसएक्स | १४९७ सिसी | पेट्रोल | ५९,९६,००० |
एसएक्स सिभिटी | १४९७ सिसी | पेट्रोल | ६५,९६,००० |