एक सय २५ वर्ष लामो इतिहास बोकेको स्कोडा संसारकै पुराना कार ब्रान्डहरुमध्ये एक हो। यसको सुरुआत सन् १८९५ मा एउटा साइकल निर्माता कम्पनीको रुपमा भएको थियो। जुन कम्पनीको नाम ‘लेरेन एन्ड क्लेमेन्ट’ थियो।
दुई संस्थापक भाक्लाभ लरेन र भाक्लभ क्लेमेन्टको नामबाट राखिएको थियो। सन् १९२५ मा यो कम्पनी स्कोडा वक्स कंग्लोमेरेटले खरिद गर्यो र स्कोडा नामबाट कार बन्न थाले।
नेपालमा भने १२ वर्षदेखि एमएडब्लु इन्टरप्राइजेजले स्कोडा ब्रान्डका कार बिक्री गर्दै आएको छ। हाल एमएडब्लुले र्यापिड टीएसआई अटोमेटिक, र्यापिड टीएसआई म्यानुअल र सुपर्ब अटोमेटिक गरी तीन मोडेलका सेडान बिक्री गर्दै आएको छ।
र्यापिड टीएसआई अटोमेटिक एक्टिभ राइडर, एम्बिसन, अनिक्स, स्टाइल र मोन्टे कार्लो गरी चार भेरियन्टमा उपलब्ध छ। जसको मूल्य कम्पनीले क्रमसः ४२ लाख ९० हजार, ५० लाख ९० हजार, ५१ लाख ९० हजार, ५७ लाख ९० हजार र ५८ लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ।
त्यसैगरी, र्यापिड टीएसआईको म्यानुअल पनि पाँच संस्करणमा उपलब्ध छन्। र्यापिड टीएसआई म्यानुअलअन्तर्गत एक्टिम राइडरको ३५ लाख ९० हजार, एम्बिसनको ४३ लाख ९० हजार, अनिक्सको ४४ लाख ९० हजार, स्टाइलको ५० लाख ९० हजार र मोन्टे कार्लोको ५१ लाख ९० हजार रहेको छ।
साथै, नेपालमा प्रिमियम सेडान सुपर्व अटोमेटिकको एल एन्ड के उपलब्ध छ। जसको मूल्य एक करोड ३५ लाख रहेको छ।
र्यापिड टीएसआइलाई नेपाली बजारले मन पराएको एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए।
‘तीन महिनाअघि नेपालमा भित्र्याएको यो नयाँ सेडानलाई निकै रुचाएको पाएका छौं। विशेषगरी, ह्याचब्याकै मूल्यमा सेडानको कम्फर्ट र लक्जरी अनुभव गर्न पाइने हुँदा ग्राहक बढी आकर्षित भएको हो’ उनले भने ‘अझ स्कोडाको ब्रान्ड भ्यालु, सेफ्टी फिचर र नयाँ टीएसआई इन्जिनको प्रभावशाली पावरले काम गरेको हामीले अनुभव गरेका छौं।’