प्रिमियम मोटरसाइकल निमार्ता कम्पनी रोयल इन्फिल्डले भारतीय ग्राहकका लागि विशेष अफर ल्याएको छ।
अफरअनुसार ग्राहकले रोयल इन्फिल्डको चर्चित मोटरसाइकल क्लासिक ३५० डुअल च्यानल र मेटियोर आफ्नै तरिकाले रिडिजाइन गरेर अर्डर गर्न सक्ने भारतीय संचार माध्यम जी बिजले जनाएको छ।
यसको लागि ग्राहकले तोकिएको शुल्क बुझाएर छुट्टै बुकिङ गर्नुपर्ने छ। ग्राहकले कम्पनीकाे वेवसाइटमा गई विभिन्न अप्सनमध्ये आफूलाइ मनपर्ने डिजाइन गर्न सक्नेछन्।
यो योजनाअन्तर्गत ग्राहकले फ्यूल ट्याङ्कको रङ, साइलेन्सरको रङ्ग, लुकिङ ग्लास आफ्नो इच्छा अनुसार छान्न सक्ने बताइएको छ। त्यस्तै ग्राहकले लेग गार्ड, फुटपेग्स, साइड बक्स, इनर बक्स, विन्ड शिल्ड, सिट, ब्याक रेस्ट लगायतपनि आफ्नो चहानाअनुसार छान्न सक्नेछन्।
योसँगै कम्पनीले ग्राहकलाई तान्न विभिन्न प्रयासहरु गरिरहेको छ। केही समय अगाडि मात्रै रोयल इन्फिल्डले लगातार २८ वटा मोडलको मोटरसाइकल बजारमा ल्याउने घोषणा गरेको थियो।
कम्पनीले प्रत्येक ४ महिनामा एउटा मोडल सार्वजनिक गर्नेछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाउन नयाँ–नयाँ मोडल सार्वजनिक गर्न लागिएको कम्पनीका सिइओ विनोद दुसारीले बताए।
त्यतै केही समयअघि रोयल इन्फिल्डले भारतमा मेटियोर ३५० सार्वजनिक गरेको थियो।
यो फायरबल, स्टेलर र सुपरनोभा गरी ३ वटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले भारतमा फायरबलको मूल्य १ लाख ७५ हजार ८ सय २५ रुपैयाँ, स्टेलर भेरिएन्टको १ लाख ८१ हजार ३ सय ४२ र सुपरनोभाको १ लाख ९० हजार ५ सय ३६ निर्धारण गरेको छ।
यो पहेँलो कालो र रातो गरी ३ वटा रङ्गमा आउने छ। यसैगरी १५ भन्दा धेरै फ्यूल ट्याङ्क कलर अप्सनमा उपलब्ध छ।
‘मिटियोर ३५०’ मा बिएस६, ३४९ सिसी एयर कुल्ड सिङ्गल सिलिन्डर इन्जिन जडान गरिएको छ। यसले २०।५ एचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५ स्पिड गियर बक्स दिइएको छ।
मिटियोर ३५० मा रोयल इन्फिल्डले पहिलो पटक ‘स्मार्ट कनेक्टिभिटी’ फिचर्स प्रयोग गरेको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।
यसको मद्दतले रोयल इन्फिल्ड एपसगँ कनेक्ट गरेर कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ। यसमा ओड मिटर, ट्रिप मिटर, सर्भिस रिमाइन्डर लगायतका फिचर्स पनि दिइएको छ।
मिटियोर ३५० डुअल च्यानल एबिएस, एलइडी डिआरएल वाला सर्कुलर हेलोजिन हेडल्याम्प, एलइडी टेल ल्याम्प लगायतका फिचर्स दिएइको छ।