बहुआयामिक सुविधा सहित सञ्चालनमा आएको राइड सेयरिङ एप्लिकेसन एटेन्डले आफूसँग आबद्ध सबै सवारी चालकको निःशुल्क पिसिआर परीक्षण गराउने भएको छ।
दुई पांग्रे एवं चार पांग्रे सवारी कार, जिप, एम्बुलेन्स, शववाहन, ट्याक्सी जस्ता विविध साधनलाई आफ्नो सेवाको सूचीमा राखेर आफूसँग आबद्ध सबै चालकको कोभिड परीक्षण गराएर मात्रै सेवामा आबद्ध गराउने भएको एटेन्डले जनाएको छ।
यो नीति अनुसार बिध ल्याबको सहकार्यमा एपले आइतबारदेखि नै चालकको परीक्षण र एपमा दर्ता गराउन सुरू गर्ने तयारी गरिएको एटेन्डका निर्देशक भीमकान्त भण्डारीले जानकारी दिए।
आफ्ना सेवाग्राहीलाई संक्रमण मुक्त भएको विश्वास दिलाउने एवं सेवामा खटिने राइडरको मनोबल बढोस् भन्ने उद्देश्यले निःशुल्क कोभिड परीक्षण गराउने निर्णय गरिएको उनले बताए।
पछि पनि चालकहरूको समयसमयमा यसैगरी निःशुल्क परीक्षण गराइरहने योजना रहेको भण्डारीले जानकारी दिए।
सो एपमा जोडिन चाहने राइडरहरूले आइतबारदेखि कुपन्डोलस्थित होटल हिमालयको छेउमा रहेको बिध ल्याबमा सवारी साधनसहित गएर आफ्नो कोभिड परीक्षण गराउन सक्नेछन्।
एटेन्ड एप प्रयोगकर्ताले प्ले स्टोर वा एप स्टोर मा गएर एटेन्ड ड्राइभर डाउलोड गर्नुपर्नेछ।
सोही ल्याबको प्रांगणमा एटेन्ड एपका आधिकारिक व्यक्तिलाई समेत नयाँ सदस्यताका लागि राख्ने र उनीहरूले नै कोभिड परीक्षण भएपछि एटेन्ड एपमा समेत रजिस्ट्रर गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए।
उनका अनुसार यसरी गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएकालाई स्वास्थ्य सर्टिफिकेट जारी गरेपछि मात्र राइडरले सोही दिनदेखि र पोजिटिभ रिपोर्ट आएका चालकको १४ दिनपछि फेरि परीक्षण गरेर मात्रै एटेन्ड एपमा जोडिने छ।
ग्राहकले एटेन्डको कल सेन्टर ९८०२०४२५२३ मा सम्पर्क गरी थप जानकारी सकिने कम्पनीले जनाएको छ।
कम्पनीले यसअघि आफूसँग आबद्ध सम्पूर्ण राइडरको बीमा तथा सेवा शुल्क नलिने घोषणा गरिसकेको छ।