भारतमा निकै लोकप्रिय बनेको किया सोनेटले नेपाली बजारमा पनि राम्रै स्थान पाएको छ।
कम्पनीलाई सोनेटको माग धान्नै मुश्किल परेको कियाका लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङका सहायक महाप्रवन्धक अजिश लामिछानेले जानकारी दिए।
गत मंसिर ४ गते सार्वजनिक भएको सोनेट पहिलो लटको गाडीले नपुगरेर फेरि अर्डर गरिएको उनले बताए। सोनेटकै बारेमा बुझ्न आउने ग्राहकको संख्या बढ्दो क्रममा रहेको कन्टिनेन्टल ट्रेडिङकी सेल्स कन्सल्टेन्ट दिया शर्माले जानकारी दिइन्।
उनका अनुसार सोनेट ३ वटा डिजेल र एउटा पेट्रोल गरी ४ वटा संस्करणमा उपलब्ध छ।
कम्पनीले १.२ लिटर पेट्रोल एचटिइको मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकेको छ। यसले ८२ बिपिएच पावर र ११५ एनएम टर्क उत्सर्जन गर्छ।
१.५ लिटर डिजेल इन्जिनको एचटिएक्सको ४७ लाख ९० हजार तोकिएको छ। यो इन्जिनले १०० बिपिएच पावर र २४० एनएम टर्क उत्सर्जन गर्छ।
१.५ लिटर डिजेल इन्जिनको एचटिके प्लसएटीको मूल्य ४७ लाख ९० हजार रुपैयाँ छ। यसले ११५ बिपिएच पावर र २५० एनएम टर्क उत्सर्जन गर्छ।
कम्पनीले फुल अप्सनको १.५ लिटर डिजेल इन्जिनको जिटिएक्स प्लसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकेको छ। यसले ११५ बिपिएच पावर २५० एनएम टर्क उत्सर्जन गर्छ।
किया सोनेटमा ६ वटा एयरब्याग, ७ स्पिकर, १०.२५ एचडी टचस्क्रिन, वायरलेस फोन चार्जर, लेदरको सिट तथा डोर प्यानल र चालक तथा यात्रुका लागि भेन्टिलेटेड सिट लगायत सुविधा दिइएको कम्पनीको भनाइ छ।
त्यसैगरी भाइरस प्रोटेक्सनसहितको स्मार्ट प्योर एयर प्यूरिफायर, क्रिस्टल अलोय ह्विल, एलइडी साउन्ड मुड ल्याम्प, फ्रन्ट पार्किङ सेन्सर, एडभान्सड १०.६७ सेमी कलर इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्टवाच कनेक्टिभिटी लगायत फिचर्स छन्।
यसको ग्राउन्ड क्लियरेन्स २११ मिलिमिटर र बुट स्पेस ३९.२ लिटर छ।
यो गाडीमा कम्पनीले ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिएको छ।