परेको मूल्यभन्दा थोरै बिल बनाएर ल्याइएको (अन्डर इन्भ्वाइस) झण्डै ५ करोड रूपैयाँ पर्ने रेन्ज रोभर गाडी वीरगन्ज भन्सारबाट छुटेको छ।
मनकामना इन्जिनियरिङका नाममा ल्याइएको त्यो गाडी गत मंसिर २५ गते प्रक्रिया पूरा गराएर छुटाइएको भन्सारका एक कर्मचारीले सेतोपाटीलाई जानकारी दिए।
ती कर्मचारीका अनुसार उक्त गाडी धेरै महिनादेखि भन्सारमा थन्किएको थियो।
‘कोभिड १९ स्पेसल डिस्काउन्ट’ लेखेर यो गाडी भारतको कलकत्तासम्म ल्याइपुर्याउँदा यसको मूल्य ४९ हजार ५ सय डलर कायम गरिएको थियो। तर भन्सारका कर्मचारीलाई गाडी देखेर शंका लागेपछि उनीहरूले भन्सारमै रोके।
'गाडी कर छलीको शंकाका आधारमा रोकिएको थियो,' उनले भने।
कर्मचारीहरूले पछि विभिन्न वेबसाइटमा अध्यन गरेर कलकत्तासम्म त्यो गाडीको मूल्य ९६ हजार ८ सय २ डलर पर्ने पत्ता लगाए। अर्थात् करिब १ करोड १४ लाख रूपैयाँ। अझ त्यसमा नेपालको नाकासम्म ल्याउँदा थप १ लाख ५० हजार रूपैयाँ मूल्य जोडेर गाडीको मूल्य कायम गरिएको थियो।
न्यून बिजकीकरण गरेको जरिवाना, नेपालमा आधिकारिक वितरक नभएकाले गाडीको मूल्यको ३० प्रतिशत, भन्सार शुल्क, अन्तशुल्क, मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुर गरेर सो गाडीको मूल्य ४ करोड ८९ लाख ८७ हजार रूपैयाँ पुगेको ती कर्मचारीले सेतोपाटीलाई जानकारी गराए।
रेन्ज रोभर फुलसाइज लक्जरी एसयूभी हो। यो बेलायती अटोमोबाइल कम्पनी ल्यान्ड रोभरको सब-ब्राण्ड हो। अहिले भन्सारबाट छुटेको यो गाडी कुन मोडलको हो भन्ने चाहिँ यकिन छैन।