चर्चित अमेरिकी कार कम्पनी टेस्ला भारतीय बजारमा प्रवेश गर्ने भएको छ। कम्पनीले भारतीय बजारमा यो गाडीको सुरुवात राम्रो गर्ने तयारी थालेको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।
टेस्लाले केही महिनामा ‘टेस्ला मोडल ३’को बुकिङ समेत सुरु गर्ने तयारी थालेको छ। यो भारत भित्रिएमा इलेक्ट्रिक मोविलिटी बढ्नुका साथै इलेक्ट्रिक कारको राम्रो अप्सन समेत पाइने कम्पनीको भनाइ छ।
इलेक्ट्रिक कार सेग्मेन्टमा टेस्ला संसारको चर्चित कम्पनी मध्यमा पर्छ। यो उत्कृष्ट डिजाइन र एड्भान्स फिचर्सको लागि चर्चित छ।
भारतमा टेस्लाले आफैले डिलरसिप सुरु गर्ने र सेल्स नेटवर्क बनाउने बताइएको छ। त्यस्तै, कम्पनीले ग्राहकको सुविधाको लागि सर्भिस स्टेसन समेत निर्माण गर्नेछ।
कम्पनीले भारतमा एसेम्बल प्लान्ट पनि बनाउन सक्ने नवभारत टाइम्सले जनाएको छ। भारतमा गाडी एसेम्बल भएमा गाडीको मूल्य पनि घट्नेछ।
टेस्लाले भारतको ब्याङ्लोरमा रिसर्च तथा डेभलपमेन्ट सेन्टर बनाउने तयारी गरेको बताइएको छ। सुरुवाती चरणमा भने चीनको संघाईको प्लान्टमा निर्मित गाडी आउनेछ।
२०२१ को सुरुवातमा अनलाइन बुकिङ सुरु गर्न लागिएको ‘टेस्ला मोडल ३’ले बजारमा राम्रो प्रभाव जमाउने अनुमान गरिएको छ। ‘टेस्ला मोडल ३’ सिङ्गल र डुअल मोटर अप्सनमा उपलब्ध हुनेछ।
इन्ट्री लेबल र स्ट्याडर्ड रेन्ज प्लसमा उपलब्ध यो गाडी सिङ्गल चार्जमा ४२३ देखि ५६८ किलोमिटर गुड्न सक्छ। त्यसैगरी यो गाडी ६ सेकेन्डमा शून्यदेखि १ सय किलोमिटरको रफ्तारमा पुग्न सक्छ।