सुजुकीको इन्ट्री लेबल गाडी अल्टो ४ लाख रूपैयाँभन्दा थोरै डाउनपेमेन्ट गरेर किन्न पाउने अफर कम्पनीले कायम राखेको छ।
दसैंतिहारमा ल्याइएको अफरलाई ग्राहकको सुविधाका लागि कायम राखिएको सुजुकीको लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पका सिनियर म्यानेजर करुन शाक्यले जानकारी दिए।
‘हामीले अल्टोमा १ लाख ६० हजारसम्म छुट, २० प्रतिशत डाउनपेमेन्टमै गाडी उपलब्ध गराउने, एक वर्षको बीमा र एसोसोरिजहरू उपलब्ध गराउछौं,’ उनले भने। यो स्किम अनुसार ग्राहकले अल्टोको बेस भेरिएन्ट ३ लाख ५९ हजार ८ सय रूपैयाँ डाउनपेमेन्टमा पाउन सक्नेछन्।
गाडी खरिद गर्दा न्यूनतम ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भए पनि कम्पनीको भगिनी फाइनान्स कम्पनी मार्फत फाइनान्सिङ सुविधा दिइएको उनले बताए। हाल नेपालमा अल्टोको स्ट्यान्डर्ड, एलएक्सआई र भिएक्सआई गरी ३ वटा भेरिएन्ट उपलब्ध छ।
कम्पनीले स्ट्याण्डर्डको १८ लाख ९९ हजार एलएक्सआईको २० लाख ९९ हजार र भिएक्सआईको २२ लाख ९९ हजार मूल्य निर्धारण गरेको छ।
यो योजना अनुसार कम्पनीले स्ट्याण्डर्डमा १ लाख, एलएक्सआईमा १ लाख २० हजार र भिएक्सआइमा १ लाख ६० हजार रूपैयाँ दिइएको शाक्यले जानकारी दिए।
८०० सिसी इन्जिन क्षमताको अल्टोले ४९ पिएस पावर र ६९ एनएम टर्क जेनेरेट गर्छ। यसमा बेस भेरिएन्टमा सिंगल एयर ब्याग, एबिएस, रिजर्भ पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर, स्पिड अर्लट सिस्टम, लगायत फिचर्स छन्।
त्यस्तै टप भेरिएन्टमा डुअल एयर ब्याग, पावर स्टेरिङ, फ्रन्ट पावर विन्डो, म्यूजिक सिस्टम लगायतका फिचर्स थप गरिएका छन्। कम्पनीले करिब २५ हजार रूपैयाँ बराबरको एसोसोरिज पनि उपलब्ध गराएको छ।